मेडस्टोन(बेलायत): बेलायतवासी याक्थुङ समुदायले पहिलोपटक आफैँले खरिद गरेको चुम्लुङ देन(जग्गा)मा सिसेक्पा तङ्नाम मनाएका छन् ।

करिब दशक बढीको प्रयासपछि याक्थुङ चुम्लुङको सक्रियतामा आफ्नै चुम्लुङ देनमा हज्जारौँ सङ्ख्यामा उपस्थित भएर सन् २०१९ को तङ्नामलाई भव्यतापूर्वक स्वागत गरेका हुन् । केन्टस्थित मेडस्टोनको याल्डिङमा अवस्थित चुम्लुङ देनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मेडस्टोन बोरो काउन्सिलकी मेयर मेरियन रिङले नेपाली समाजसँग अन्तर्घुलन गर्न चुम्लुङले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘यहाँहरूको उपस्थितिले साँस्कृतिक आदनप्रदान गर्न हामीलाई थप सहयोग मिल्नेछ । हामी यहाँहरूको सामूहिक प्रयासका लागि बधाई व्यक्त गर्दछौँ,’ उनले थपिन् । मेयर मेरिङले चुम्लुङको भावी योजनाहरूमा काउन्सिल सहयोग गर्न तयार रहेको पनि सुनाइन् ।

कार्यक्रमका विशिष्ट अतिथि मिचिगन स्टेट विश्वविद्यालय, अमेरिकाका एसोसिएट प्राध्यापक डा. मारोहाङ खवाहाङले बेलायतवासी याक्थुङहरूको सक्रियता विश्वभर छरिएर रहेका याक्थुङहरूका लागि प्रेरणा भएको धारणा राखे । उत्सवलाई अन्य विशिष्ट अतिथिहरू नेपाल आदिवासी जनजाति महासङ्घ यूके अध्यक्ष जङ्ग सुनुवार, गैरआवसीय नेपाली महासङ्घ यूके अध्यक्ष योग कुमार फगामी लगायतले सम्बोधन गरेका थिए । यसअघि कार्यक्रमका प्रमुख अतिथि मेयर रिङल, विशिष्ट अतिथिहरू लगायत चुम्लुङ संस्थापकहरूले चुम्लुङ देन र उत्सवको एकसाथ उद्घाटन गरेका थिए ।

silamm

कुल २५.३३ एक्डमा फैलिएको चुम्लुङ देनको खरिद प्रक्रिया सन् २०११ मा पीपीसी गठन भएपछि सुरु भएर गत साल समापन भएको थियो । चुम्लुङ यूकेको स्थापना सन् २००३ मा भएको हो । चुम्लुङ देन खरिदका लागि झण्डै पौने आठ सय बढी सहयोगदाताहरूबाट रकम सङ्कलन गरिएको चुम्लुङ अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले जानकारी दिए । उनले भविष्यमा चुम्लुङ हिम निर्माणको परिकल्पना समेत गरिएको बताए ।

प्रत्येक वर्ष सहकालको आह्वान गर्दै मनाइने सिसेक्पा तङ्नाम उत्सवमा यसपटक भने करिब साढे चार हजार बढी याक्थुङ समुदायको उपस्थिति रहेको महासचिव गणेश इजमले बताए । उनले सन् २००६ देखि बेलायतमा भेला भएर सिसेक्पा तङ्नाम मनाउन थालिएको जाकारी दिए ।

पुरस्कार वितरण र केलाङ प्रतिस्पर्धा

सिसेक्पा तङ्नामको अवसर पारेर वार्षिक रूपमा चुम्लुङले केही अवार्ड तथा सम्मानपत्र पनि वितरण ग¥यो । सबैभन्दा सक्रिय चुम्लुङकर्मीलाई प्रदान गरिने चुम्लुङ अवार्ड यसपटक आसफोर्ड शाखा अध्यक्ष टङ्क येङ्देनलाई प्रदान गरिएको कार्यक्रम संयोजक विमला सेनेले जानकारी दिइन् ।

silam

यसैगरी, कुशल खेल सञ्चालन गरेबापत यलम्बरहाङ अवार्ड गेहेन्द्र थाम्सुहाङलाई दिइयो । याक्थुङ कला, सँस्कृति र भेषभूषामा उल्लेख्य योगदान दिएको भन्दै अमृता केरूङलाई आर्टिष्ट अफ दि इयर अवार्डले विभूषित गरियो । यसैगरी, अल्ट्रा म्याराथन धाविका रञ्जु येङ्देनलाई समेत सम्मानपत्र प्रदान गरियो ।
तङ्नामको मुख्य आकर्षणका रूपमा रहेको केलाङ(च्याब्रुङ नाच) प्रतियोगिता भने यसपटक आसफोर्ड केलाङ समूहले बाजी मा¥यो । विजयी टिमलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो ।

यसैगरी, कार्यक्रममा याःलाङ(धान नाच), पा?लाःम्, हाक्पारेको पनि प्रदर्शनी गरिएको साँस्कृतिक विभाग प्रमुख डम्बर साँवाले बताए । तङ्नाम उत्सवमा यूके भ्रमणमा रहेका गायक ब्रबिम शेर्माले याक्थुङ गीत गाएर मनोरञ्जन दिए । त्यस्तै, थातथलो चलचित्रकी नायिका सुमी लिवाङले आकर्षक नृत्य प्रस्तुत गरिन् । साँस्कृतिक सत्रको कार्यक्रम चुम्लुङ सहसचिव सानु सुब्बाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक विमला सेने दिएकी थिइन् । त्यस्तै, उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङले सुरक्षासम्बन्धी ब्रिफिङ र अर्का उपाध्यक्ष नरवीर आङ्वोले सिसेक्पा तङ्नामबारे संक्षेपमा जानकारी दिएका थिए ।