सुनसरी: इटहरी उपमहानगरले सञ्चालन गरेको सेफ हाउस (सुरक्षित आवास गृह)मा आश्रय लिइरहेकी एका अविवाहित युवतीले बच्चा जन्माएकी छिन् ।

एक सातादेखि सेफ हाउसमा भएकी युवतीले आज छोरी जन्म दिएकी हुन् । उनले इटहरी अस्पतालमा छोरी जन्मा दिएको उपमहानरले जानकारी दिएको छ । ती युवती संखुवासभा जिल्लाकी हुन् । एक ब्यक्तिले विवाह गर्छु भनेर प्रेमजालमा फसाई उनलाई गर्भवती बनाएपछि वेपत्ता भएका थिए । त्यसपछि ती युवालाई खोज्दै उनी तराई झरेकी थिइन् । सोही क्रममा उनलाई इटहरीस्थित सेफ हाउसमा राखिएको थियो ।

उपमहानगरका अनुसार ती युवतीका आफन्तजनलाई बच्चा जन्म दिएको बारेमा जानकारी गराइसकेको छ ।
उपमहानगरपालिकाले एक बर्षदेखि सेफ हाउस सञ्चालन गरेको हो । त्यहाँ हालसम्म ७६ जना विभिन्न किसिमका पीडित महिलाले सेवा लिइसकेको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार उक्त सेफ हाउसमा अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलाले सेवा पाइसेका छन् । सेफहाउसमा पीडित महिलाहरुलाई अल्पकालिन सेवा प्रदान गरिन्छ । पूर्वका प्रायः सवै जिल्लाका महिलाले इटहरीको सेफहाउसबाट सेवा लिएका छन् । साथै, रसुवा,सिन्धुपाल्चोक,ललितपुर र सिन्धुलीका महिलाले पनि सेवा लिएको सेफहाउस सञ्चालक समितिले जनाएको छ ।

जनप्रतिनिधि,प्रहरी र संघ सस्थाहरुको सिफारिसमा समस्यामा परेका महिलालाई सेफहाउसमा राख्ने गरिएको छ । सेफहाउसमा १५ दिन सम्म राख्ने ब्यवस्था छ । सो अवधिमा खानपिन, औषधीउपचार,काउन्सिलिङ प्रदान गरिन्छ । त्यसपछि आफन्त पत्ता लगाएर वुझाउने गरिएको छ । घर जादाँको वाटोखर्च पनि उपमहानगरले दिने गरेको छ । कोहि आफन्त नभए वा आउन नसके घरसम्मै पुरयाउने ब्यवस्था गरिएको छ । आफन्त पत्ता नलागेका चार जनालाई मंगला, शाहाना पूर्नस्थापना केन्द्र काठमाडौ पठाइएको छ ।