दमक: दमक ३ का लाखजित नेम्वाङका हजरबुबाले दुम्सेमा १० बिगाह जग्गा खरिद गरेका थिए । तर अहिले त्यो १० बिगाह जग्गा कहाँ छ भन्ने उनलाई कुनै पत्तो छैन ।

हजुरबुबा र बुबाले त्यो जग्गा बेचेर वा भागण्डा गरेर सकेका हैनन । उनका अनुसार वर्षेनी मावा खोलामा आएको बाढिले उनको गरिखाने खेत नै बगाईदियो । अहिले त्यो खेतको नाम निशान छैन । उनका अनुसार अहिले त्यो जग्गा मोरङको मिक्लाजुङ्गका अरु कसैले ब्यक्तिगत बनाई सकेका छन् । झापाको दमकस्थित दुम्सेमा किनेको जग्गा अहिले मोरङ पर्यो । ‘कसरी ?’ उनले प्रस्ट्याए,‘खोला कहिलो बग्छ थाह हुदैन रहेछ । अनि राज्य पनि खोला जता जता जान्छ त्यतै खोलाको क्षेत्र हो भन्दै तोकिदिन्छ त्यहि भएर त्यसबेला झापामा किनेको खेत खोलाले कटान गरेर हराएको थियो ।’

पछि खोला कटान गर्दैै पूर्व तर्फ आयो । उनको खेत पश्चिममै छाडियो, र अहिले त्यो खेत मोरङ्गमा परेको उनी बताउँछन् । नेम्वाङ्ग परिवार अहिले जग्गाबिहिन सुकुम्वासी भएका छन् । मावा खोलामा दर्विलो बाँध नबाँधिनु आफु सुकुम्बासी हुनुको मुख्य कारण उनी मान्छन् । उनको मात्र होइन, यस ठाउँमा सयौ सर्वसाधारणको घरखेत मावा नदिले कटान गरेर कतै बगर बनाईदिएको छ भने कतै खोलाको धार नै खेतमा छ ।

दमक ३ कै महेश चोककी चन्द्रकला कुमाल पनि मावा खोलाको सास्ती सहेर बसेको बताउँछिन् । खोलामा कुनै भेल बगेको आवाज सुन्ने बित्तिकै आत्तिनुपर्ने अवस्था छ । उनका अनुसार खोला उत्खनन् गरेर खोला गहिरिएको छ । खोलाले आफ्नो धार कतिबेला परिवर्तन गर्छ, र गाउँ पसेर बितण्डा गर्छ भन्ने सधै चिन्ता छ । ‘खोलामा बलियो तटबन्ध छैन । खोलाको भेल गाउँमा जतिबेला पनि पस्ने अवस्था रहेको छ, त्यसैले पानी परेको रात निद्रा लाग्दैन,’कुमालले भनिन्‘खोलालाई आफ्नो क्षेत्रमा बग्न दिने मात्र हो भने पनि त्रास कम हुने थियो ।’

मावा अत्याधिक दोहन भएर पनि खोलाको पानीको बहाव गाउँ पस्ने जोखिम बढेको मावा खोला जग्गा कटान तथा रोकथाक समितिका संयोजक वेदनिधी चापागाईले बताए । उनले सरकारलाई पटक पटक मावा उत्खनन् रोक्न आग्रह गर्दा समेत नरोकिएको बताए । सत्ता र शक्तिको अगाडी कसैको केही लाग्दैन रहेछ । हामी निमुखाको बोली कसले सुन्ने र ? प्रतिप्रश्न गर्दैै संयोजक चापागाईँले भने,‘खोला उत्खनन् गरेर राज्य र ठेकेदार करोडौ कमाउँछन् तर प्रभावित क्षेत्रका हामी नागरिक सँधै त्रासमा बस्नु पर्छ ।’ उनले नागरिकस्तरबाट केही रकम संकलन गरेर बर्खाको समयमा कटानले धेरै क्षति नगरोस भनेर तारजाली लगाउने गरेको बताए ।

खोला आउने ट्याक्टर र ट्रिपरबाट क्रमश २५ र ५० रुपैँया लिने गरेको र वर्षभरी संकलन गरिएको रकमबाट तारजाली लगाउन आवश्यक पर्ने सामाग्री खरीद गरेर काम गर्ने गरेको संयोजक चापागाईले बताए । यो वर्ष पनि करिव ७ लाख रुपैँया संकलन भएको छ । सो रकमबाट आवश्यक पर्ने ढुङ्गा र जाली खरीद गरेर खोला रोकथाम गर्ने काम गरिएको उनले बताए । तारजालीका लागी नगरपालिकाले पनि केही सहयोग गरेको तर समयमा आवश्यक सामाग्री उपलब्ध नभैदिदा काम गर्न ढिला भएको उनले बताए ।

दमक नगरपालिका वडा नं ३ ले यस आर्थीक वर्ष २०७५/७६मा १० लाख छुट्याएको र सोही कोषबाट नदी कटान रोक्न सामान्य काम गरिरहेएको वडाध्यक्ष नविन बरालले बताए । तारजाली ढुङ्गा, अन्य आवश्यक सामाग्री खरिद तथा मर्मतमा उक्त रकम खर्च गरिएको वडाध्यक्ष बरालको भनाई छ । तर यो काम दिगो समाधान नभएको र दिगो समाधानका लागि प्रदेश र संघीय सरकारसँगको सहयोग मागिरहेको उनले जानकारी दिए ।