पथरी: लगातारको वर्षा पछि आएको पहिरोेले बाटो पुरिदा उत्तरी मोरङ्का पहाडी क्षेत्र यातायात सेवा अवरुद्ध भएको छ ।

बर्षासँगै आएको पहिरोले ठाउँ ठाउँमा सडक पुरिएपछि तराइ क्षेत्रबाट मोरङ्गका उत्तरी केरावारी र धनकुटाको चौविसेका जनताको आवतजावत समेत अवरुद्ध भएको हो । मोरङको खोर्साने र केराबारी बजारबाट उत्तरी मोरङको पहाडी क्षेत्रमा पर्ने भोगटेनी र सिंहदेवी हुँदै भेडेटार रवि राँके सडक र धनकुटाको चौबिसे क्षेत्र जोड्ने खोकेभोसि सडक अवरुद्ध भएको छ ।

केराबारी भोगटेनी कृषि सडक अन्तरगत केराबारी ३ को भोगटेनी स्थित एक्लेटार नजिककै पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । सडकको भागसहित एक डेढ सय मिटर तल पहिरोे झरेका कारण तत्काल सडक संञ्चालनमा आउने सम्भावना नभएको केराबारी ३ का महेन्द्र मगरले वताए ।

पैदल यात्रा गर्न समेत मुश्किलले हुने गरी सडकको पुरै भाग पहिरोले कटान गरी खसेको कारण मोरङको दुर्गम पहाडी क्षेत्रका स्थानीयवासीहरुले सास्ती खेप्नुपर्ने भएको छ । सडक अवरुद्ध भएपछि निकासी हुने तरकारी बाली पनि नष्ट हुने अबस्था सृजना भएको छ । यो क्षेत्रवाट तरकारी र जडीवुटी तराइका क्षेत्रमा निर्यात हुदै आएका छ ।

लामो बर्षा र झरीसंगै आएको वर्षाले ठाउंँठाउंँमा पहिरो गएर सडक अवरुद्ध भएपछि केराबारीको भोगटेनी र सिंहदेवीका बासिन्दाले गाउंँपालिका कार्यालय, केराबारी बजार आउन भेडेटार हुँदै धरानबाट घुम्नुपर्ने बाध्यता आइलागेको छ । पहिरोले सडक भत्किएपछि सिंहदेवीमा अबस्थित पर्यटकीय स्थल जेफाले आउने पर्यटक समेत घट्ने अबस्था आएको छ ।