झापा : एनसेल कम्पनीको टावरमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ । गए राति अज्ञात समूहले झापाको भद्रपुर र दमकमा रहेको दुई वटा एनसेल टावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार भद्रपुर नगरपालिका ३ स्थित गोले चोक र दमक नगरपालिका १ मामा चोकमा रहेको एनसेलको टावरमा आगजनीको प्रयास भएको हो । भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

अहिले भद्रपुरको सम्पूर्ण टावरमा प्रहरी परिचालन गरिएको छ । ‘दमकको मामा चोकमा रहेको टावर बाहिर सानो बम पड्काएको आवाज आएको थियो’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘त्यसपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकका डिएसपीसहितको प्रहरी परिचालन गरेका थियौ, तर टावर वरिपरि कुनै क्षति भएको देखिएन ।’ ‘जिल्लाको एनसेल टावरमा आक्रमणको प्रयास भएपछि जिल्लाभरि प्रहरी परिचालन गरेका छौ’, उहाले भन्नुभयोे, ‘अहिले सम्म कुनै क्षति भएको छैन, क्षति हुन नदिन प्रत्येक टावरमा प्रहरी खटाइसकेका छौ ।’ यता एनसेल कम्पनी बिर्तामोडका इन्जिनियर वीरेन्द्र झाका अनुसार जिल्लाको टावरमध्ये भद्रपुर र दमकमा आक्रमणको प्रयास भएको हो । आक्रमणकारीले टावरमा क्षति पुर्याउने प्रयास गरे पनि केही नभएको उनको भनाइ छ ।