सुनसरी : इटहरी वडा नम्बर २ तामाङ्ग चौकको एउटा घर, एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ वर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन् ।

कान्छोछोरो बाहेक कोहि पनि बोल्न समेत सक्दैनन् । उठेर हिँडन त परै जाओस्, बस्न पनि सक्दैनन् । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलिअलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ । यहि परिवारका लागि इटहरी उपमहानगरले एकलाख सहयोग गर्ने भएको छ । यो जानकारी दिन उपप्रमुख लक्ष्मी गौतम तामाङ्ग परिवारको घरमै पुगिन् । उपमेयर गौतमका अनुसार यसवर्षको बजेटमै उनीहरुको लालनपालनका लागि भनेर एकलाख बजेट ब्यवस्था गरिएको हो । उपमेयर गौतमले भनिन्,“अर्को वर्ष बढाउने छौं ।”

त्यसको करिव २० दिनअघिमात्र इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विकास महाशाखाको टोली इटहरी २ स्थित लक्ष्मण तामाङको घर पुगेको थियो । टोलीले लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांगता भएको रातोकार्ड वितरण गरेको थियो । इटहरी सरकारको यस्तो सहयोग पाएपछि बुवा लक्ष्मण तामाङ्गले भने, “सरकार घरदैलोमै आएको महसुस भयो ।”

रातोकार्ड पाएपछि मासिक तीनहजार रकम पाउने प्रावधान छ । एकैपरिवारका चारै जना सन्तानको त्यो अवस्था देखेर उपमेयर गौतमले उपमहानगरले मिल्ने र सक्नेसम्म सहयोग गर्ने बताईन् । उनले यो घरलाई मन्दिर सम्झेर सहयोग गर्न सबैपक्षसँग आग्रह समेत गरिन् । उनले भनिन्,“एकै परिवारको यस्तो अवस्था विरलैको हुन्छ यि सन्तानलाई भगवान सम्झेर सहयोग गरौ ।”

१४ देखि २९ वर्षसम्मका चारै जना छोराछोरी जो आँखा देख्दैनन्, बोल्न सक्दैनन, जीउ लल्याकलुलुक छ उठेर बस्न सक्दैनन् । दिशा पिसाब पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरसफाईमा तामाग दम्पति अहोरात्र खटनुपर्छ । आमा जसमायाले भनिन्, “रातभर सुत्न पनि पाइदैन, पालैपालो रेखदेख गर्छौ । मेरो अरु केहि काम छैन यिनै छोराछोरीलाई भगवान ठानेर स्याहार सुसार गरिरहेकी छु ।” बुबा लक्ष्मण सेवा निवृत नेपाली सेना हुन् । उनको पेन्सनबाट आउने रकमले जेनतेन परिवार धानिरहेको छ । यो भन्दा गाहो के हुन्छ होला र ?

1

बुवा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठीक थिइन् । त्यसपछि विस्तारै आँखा देख्न छाडिन्, एक वर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो, केहि समय पछि केहि थाहाँ नपाउने भएर ओछयानको ओछयान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिडडुल गर्न भने सक्छन । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उनलाई लागेको छ ।