धरान: एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट मानिसमा सर्ने डेंगुको संक्रमण धरानमा देखा परेको तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउनुको साटो झन् फैलदै गएको छ ।

गत बैशाखको अन्तिम साता देखापरेको डेंगु नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश र केन्द्रलेसमेत थुप्रै प्रयास र अभियानहरु चलाएपनि नियन्त्रणमा आउन सकेको छैन । धरानको वडा नं १५ बाट शुरु भएको डेंगुको संक्रमण अहिले सबै वडामा फैलिइसकेको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो दुई साताको तथ्यांक र प्रत्येक वडाबाट आउने रिपोर्टले पनि घरपिच्छे डेंगु संक्रमित विरामी भएको आशंका छ । ‘प्रत्येक वडाबाट अध्यक्ष ज्युहरुले निरन्तर खबर गरिरहनु भएकोछ, अहिले त झन् घरघरमा डेंगु विरामी छन् भन्ने कुरा छ,’धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्,‘मनसुनले गर्दा पनि अब त झन् नियन्त्रणमा चुनौती थपिएको छ, त्यसैले सर्वसाधारण जनता आफै सचेत नभई हुन्न ।’

साउन १ गतेदेखि १५ गतेसम्मको पछिल्लो १५ दिनमा मात्र ४ सय ९० जना डेंगु संक्रमित विरामी थपिएका छन् । हालसम्म धरानमा २ हजार ८ सय ३ जना डेंगु संक्रमित भएको तथ्यांक छ । तर, यो तथ्यांक धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा उपचार गराउन पुगेका विरामीहरुको मात्र तथ्यांक हो । ‘यही तथ्यांकले मात्र पनि महिनामा हजार जना विरामी संक्रमित हुने देखियो । तथ्यांकमा नआएका त झनै धेरै संख्यामा छन्,’उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले भने,‘हामीले फेरि जनचेतना, सर्च एण्ड डिष्ट्रोय अभियान वृहतरुपमा शुरु गर्ने तयारीमा छांै, नत्र मनसुन पछिको समय झन् भयावह हुनसक्ने देखिन्छ ।’

धरानको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार शुरुमा आफ्नो वडामा एक जना पनि डेंगु संक्रमित देखिएको थिएन । तर, पछिल्लो समय वडा नं १६ मा अत्यधिकरुपमा डेंगु संक्रमित विरामीहरु देखिन थालेको उनले बताए । ‘अहिले जति पनि नयाँ विरामीहरु छन्, त्यसमा मेरो वडाको अत्यधिक छ । हरेक जसो घरमा डेंगुका विरामी छन्,’उनले भने,‘हामी जनप्रतिनिधिहरु ज्यादै चिन्तित छौं ।’

कार्यवाहक प्रमुख भण्डारीले डेंगु नियन्त्रणको लागि सबै प्रयास गरेपनि सम्भव नभएको भन्दै प्रदेश र केन्द्र सरकारले बिशेष टोली परिचालन गर्न पनि आग्रह गरिन् । ‘हामीले जति सक्ने थियौं सबै प्रयास र पहल गर्यौं । टोल टोलमा जनपरिचालन पनि गरेर जमेका पानी पोखाउने र लार्भा नष्ट गर्ने काम पनि गर्यौं,’उनले भनिन्,‘तर स्थानीयतहसँग पुर्ण क्षमता छैन, त्यसैले डेंगु न्युनिकरण र नियन्त्रण गर्न प्रदेश, केन्द्र सरकारले बिशेष टोली नै परिचालन गर्न अपिल पनि गर्दछुँ ।’


मानिस सचेत भएपनि व्यवहारमा उल्टो

dengue-aviyaan

डेंगु महामारी फैलिएको धरान र डेंगुु नभएको अन्य ठाउँहरुमा गरिएको एक सर्वेक्षणले धरानका नागरिकहरु डेंगुबारे जानकार भएपनि व्यवहारमा लागु नगर्ने प्रवृत्ति देखिएको छ । धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोबायोलोजी विभागले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

क्याम्पसका विद्यार्थी, शिक्षकहरुले केही साताअघि एक हजार जनामा डेंगुप्रतिको ज्ञान, व्यवहार र अभ्यासबारे सर्वेक्षण गरेको थियो । त्यसक्रममा उनीहरुले डेंगु महामारी भएको धरान र नभएको इटहरी, धनकुटा, बरहक्षेत्र नगरपालिकामा सर्वेक्षण गरेको थियो । ‘डेंगु प्रकोपग्रस्त क्षेत्रको जनता र प्रकोप नभएको क्षेत्रका जनतामा डेंगुप्रति कस्तो ज्ञान छ, डेंगु हुदा के गर्छन् र न्युनीकरणमा सावधानी अपनाउछन् कि अपनाउदैनन् भनेर सर्वेक्षण गरेका हौं,’क्याम्पसका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बूले भने,‘अन्यत्रका मानिसलाई भन्दा धरानेहरुलाई डेंगुबारे सबै ज्ञान छ । यो कस्तो रोग हो, के गर्नुपर्छ, कसरी बच्न सकिन्छ भन्ने पछि प्रष्ट थाह छ, तर व्यवहारमा भने कसैले पनि लागु गरेको छैन ।’

डेंगुको बारेमा सम्पुर्ण ज्ञान भएर पनि नियन्त्रणमा ल्याउन त्यसलाई व्यवहारमा उतार्न नसकेकै कारण धरानमा महामारी नियन्त्रणमा आउन चुनौती भएको विभागीय प्रमुख लिम्बूको भनाई छ । साथै, उनले डेंगु पुर्णरुपमा नियन्त्रणमा आउन अझै समय लाग्ने पनि उनले बताए । ‘जबसम्म हामी प्रत्येकले व्यवहार लागु गर्दैनौं, तबसम्म नियन्त्रणमा आउदैन, त्यसैले तत्काल सम्भव पनि छैन,’उनले भने,‘धराने जनता सबैले आफै घरमा कही कतै खुलारुपमा पानी जम्मा हुन नदिने र लार्भा भए नष्ट गर्ने काम नगरेसम्म नियन्त्रणमा आउदैन । जनप्रतिनिधिलाई मात्र दोष देखाएर हुदैन ।’

फेरि सर्च एण्ड डिष्ट्रोय अभियानको तयारी

dengue

डेंगु नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले पुनः अभियान शुरु गर्ने तयारीमा जुटेको छ । महामारी फैलिएपछि एक साताभित्र नियन्त्रण गर्ने लक्ष्यका साथ असार पहिलो साता सर्च एण्ड डिष्ट्रोय अभियान थालिएको थियो । मनसुन शुरु भएपछि यो अभियान थामिएको छ ।

दुई सातायता पुनः डेंगु संक्रमण फैलिएको तथ्यांक आएपछि लार्भा नष्ट गर्ने अभियान पुनः शुरु हुने कार्यवाहक प्रमुख भण्डारीले बताइन् । ‘फेरि अभियानको शुरुवात गर्दैछौं, सबैले यसमा साथ सहयोग गर्नुपर्छ, प्रत्येकले आफ्नो घर आँगन वरीपरी ५मिलिलिटर पनि पानी जम्न दिनुहुदैन,’उनले भनिन्,‘सबैले आआफ्नो ठाउँबाट जमेको पानी फाल्ने र लार्भा नष्ट गर्ने हो भने डेंगु नियन्त्रणमा आउछ ।’ कार्यवाहक प्रमुख भण्डारीले विज्ञ तथा चिकित्सकहरुको सल्लाह अनुसार नै घर, अफिसमा हुने फ्रिज, एसी, कुलर र गमला राख्ने प्लेटलगायतको पनि अनुगमन गर्ने बताइन् । साथै, नगर प्रहरी, जनपथ प्रहरी र सशस्त्र प्रहरीसमेतलाई अभियान टोलीमा राखेर कडाईकय साथ जनप्ररिचालन हुने उनले बताइन् ।