धरान: धरानमा डेंगुको संक्रमण देखिए पछि उपमहानगरपालिकाले प्रत्येक वडा तथा टोल टोलमा फगिङ(बिषाक्त धुँवा छर्ने) काम गरिरहेको छ ।

फगिङले वयस्क लामखुट्टेलाई मार्ने काम गर्ने बताइएको छ । तर, विश्व स्वास्थ्य संगठनले भने फगिङ स्वास्थ्यको लागि प्रतिकुल भएकोले बन्देज गरिसकेको छ । केही दिनअघि मात्र डेंगु नियन्त्रणबारे आयोजित कार्यक्रममा सहभागी भएर फर्किएका धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले भने,‘विश्व स्वास्थ्य संगठनले धुँवा उडाउदै नउडाउनुस् भनेको रहेछ, तर हामीले फगिङ नै बढी जोडदिइरहेका छौं । जनताको पनि माग त्यसैमा छ ।’ आफ्नो घर, टोल तथा छरछिमेकमा फगिङ गर्न जनताको माग र चर्को दबाब पर्ने भएकोले जनप्रतिनिधिहरुले पनि फगिङलाई नै प्राथमिकता दिइरहेका छन् ।

चिकित्सक एवं विज्ञहरुका अनुसार मेशिनद्धारा गरिने फगिङले बिशेष गरी वृद्धवृद्धा र बालबालिकाहरुलाई श्वासप्रश्वासमा गम्भीर असर पर्छ । वडा नं १६ का अध्यक्ष गिरीका अनुसार फगिङको क्रममा ४ वटा घरका वृद्ध र एक बच्चालाई असर परेर विपी प्रतिष्ठानमा थप उपचारको लागि लैजानु परेको थियो । ‘ती घरमा बुढापाका रैछन्, हामीले फगिङ गरेपछि सास फेर्न नसकेर अस्पताल लैजानु पर्यो, दमका विरामीलाई त झन् खतरा रहेछ,’उनले भने,‘तर डेंगु नियन्त्रण भन्दै वडामा त मेशिन किन्ने होडबाजी नै चलेको छ ।’

फगिङले स्वास्थ्यलाई मात्र होइन, डेंगु भाइरस मानिसमा संक्रमण सार्ने एडिस एजिप्टाई लामखुट्टेको पनि क्षमता पनि वृद्धि गरिरहेको विज्ञहरुको भनाई छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बूका अनुसार फगिङले मानिसको ग्रन्थी प्रणालीबारे असर गर्छ भने हार्मोन उत्पादनमा पनि समस्या ल्याउछ । ‘फगिङले लामखुट्टे सतप्रतिशत मर्दैन, प्यारालाइज मात्र गर्छ, र त्यसैले फगिङले नियन्त्रण होइन, एडिस एजिप्टाइको बाँच्न सक्ने क्षमता झन् बढाउने काम भइरहेको छ कि ?’उनले भने,‘यसलाई नियन्त्रण गर्न जरुरी छ ।’