धरान: धरान–१३ स्थित शिवधारामा नागेश्वर मन्दिरको स्थापना गरिएको छ ।

दाताहरुको सहयोगमा साढे ६ लाख रुपैयाँको लागतमा मन्दिर स्थापना गरिएको हो । नाग मञ्चमीको अवसर पारेर मन्दिरको उद्घाटन धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले गरेकी थिइन् । स्थानीय नगेन्द्र बुढाथोकीले २ लाख ७५ हजार मुल्य बराबरको ऐलानी जग्गा १ कठा १५ धुर मन्दिरको लागि उपलब्ध गराएका थिए । उक्त जग्गामा ६ वर्षयता मन्दिर निर्माण गर्न स्थानीय जुटेका थिए । रेलिङसहितको पक्की मन्दिर निर्माण गरिएको छ । मन्दिरमा गजुर राख्ने र वरीपरी घेराबारा लगाउने काम बाँकी छ ।

सभामुख प्रदीपकुमार भण्डारीसहित स्थानीयबासीहरुको सहयोगमा मन्दिर निर्माण गरिएको नागेश्वर मन्दिर निर्माण समितिका सचिब कृष्ण वाइबा तामाङले बताए । ‘सभामुख ज्यूदेखी सबै राजनीतिक दलका नेताहरु र गाउँलेहरुको सहयोगमा मन्दिर निर्माण गरेका छौं,’उनले भने,‘हालसम्म साढे ६ लाख बढी रकम खर्चिएका छौं, बनाउन अझै बाँकी छ ।’ मन्दिरको सिढी र रेलिङ मन्दिर निर्माण समितिका अध्यक्ष समेत रहेका जग्गादाता बुढाथोकीले निर्माण गरिदिएका हुन् । उनले १ लाख ५० हजार रुपैयाँ खर्चिएर सिढी र रेलिङ लगाइदिएको तामाङले बताए ।

S9430016

मन्दिर निर्माणको लागि सभामुख भण्डारीले समेत ५० हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै, समितिका अध्यक्ष बुढाथोकीका श्रीमती कलकुमारी अधिकारीले २८ हजार ६२५ रुपैयाँ, निर्माण समितिका सचिब तामाङले २५ हजार, स्थानीय विष्णु चौलागाइ र कृष्ण बा. राउतले २० हजार, १३ नम्बर वडा नागरिक मञ्चले २० हजार रुपैयाँलगायत ६८ जना दाताहरुको सहयोगमा मन्दिर निर्माण गरिएको हो । समितिका अध्यक्ष नगेन्द्र बुढाथोकीले मन्दिर निमार्ण भएपनि अझै गजुर हाल्न बाँकी रहेको बताए । गजुर र मन्दिरको घेराबारा गर्नको लागि रकम अभाव रहेको बताए । ‘मन्दिरमा गजुर हाल्न बाँकी छ, तर पैसा छैन,’ उनले भने । कार्यक्रममा मन्दिर निर्माणको लागि नगद, जिन्सी सामान सहयोगी गर्ने दाताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । उक्त प्रशंसापत्र कार्यबाक मेयर सुबेदी, वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायतले वितरण गरेका थिए ।


यस्तो छ मन्दिर निर्माणस्थलको इतिहास

S9440043

कोशी राजमार्ग छेवैमा रहेको व्रिटिस वेलफेयरदेखी करिब ५० मिटर मास्तिर नागेश्वर मन्दिर स्थापना गरिएको छ । मन्दिरको निर्माण गरिएको छेवैमा एउटा नागेश्वर पोखरी छ । नाग पोखरीको नामबाटै मन्दिर स्थापना गरिएको हो । मन्दिरको छेउमा दाया र बाँया ठुलो चट्टान छ । जसलाई शिवजी र शिहबाहिनी देवीको रुपमा पुजा गरिन्छ । मन्दिर र पोखरीको बिचमा जल्पादेवीकोे मुर्ति छ । त्यहाँ पनि जमिनमुनीबाट पानी निस्कन्छ । जसलाई पञ्चकन्यादेबी भनिन्छ ।

एकै स्थानमा शिबजी, नागपोखरी, जल्पादेबी, पञ्चकन्या र शिंहबाहिनी देवीको पुजा गरिन्छ । त्यो नागपोखरी रहेको स्थानमा करिब २००२ साल पहिला नै जमिनबाट पानी उम्रने गर्दथ्यो । सानो, हरियो कुवा थियो । स्थानीयले त्यो कुवालाई ‘कुभ’ भन्ने गर्दथे । अहिले पनि कुभ नै भन्ने गरिन्छ । त्यस आसपास फरक प्रजातीको सर्प भेटिन्थ्यो । ‘कालो र खैरो खालको सर्प भेटिन्थ्यो, जुन सर्प अन्य सर्प भन्दा फरक खालको छ’ निर्माण समितिका सचिब तामाङले भने,‘त्यो सर्पको पुच्छर चै लिडे (ठुटो) देखिन्छ, खाली त्यही कुभमा हराउथ्यो ।’ अहिले पनि आकलझुक्कल भेटिने उनको कथन छ ।

S9430011

वरीपरी बाँसको ठुलो घाँरी भएकोले स्थानीय जो कोही जान पनि डराउथे । ६ वर्ष अगाडी स्थानीयले सडकको ट्रयाक खोले । वेलफेयर मुख्यप्रबेशद्वार छेवैबाट गौरामार्ग जोड्ने सडक ट्रयाक खोलिएपछि त्यसलाई कुवालाई अलिक फराकिलो बनाएर पोखरी बनाइयो । त्यो पोखरीमा ६ वर्ष अगाडी स्थानीय एक बालक खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । हाल त्यो पोखरीलाई तारजाली लगाइएको छ । स्थानीयले त्यसलाई नागेश्वर पोखरी नाम राखे । सडकको नाम पनि नागेश्वर मार्ग छ ।

सडकको ट्रयाक खोल्ने क्रममा पोखरीको दुबै भागमा ठुला–ठुला ढुङ्गाको चट्टान भेटियो । ‘बाटो खन्ने क्रममा नागेश्वर पोखरीको दुबै वल्लो र पल्लो छेउमा ठुल–ठुला ढुङ्गा भेटियो’ मन्दिर निर्माण समितिका अध्यक्ष बुढाथोकीले भने ‘त्यसपछि धामी राख्दा पनि अब त्यो ढुङ्गा नचलाउ भन्न थाले त्यसपछि देवी देउता नै निस्किएको रैछ भनेर मन्दिर बनाएका हौ ।’ पहिला–पहिला स्थानीयले त्यो कुभ(हालको पोखरी)मा गाइबस्तुलाई पानी खुवाउने गर्दथे । मानिसहरु मनोकांक्षा पुराहोस भनेर विभिन्न भाकल गर्ने गरेको सचिब तामाङले बताए । उनका अनुसार नागपञ्चमी, बैशाखे पूर्णीमा, शिबरात्रीमा बिशेष पुजा गरिन्छ ।

S9440033