धरान: वेलफेयरमा जागिर लगाइदिने प्रलोभन दिएर धरानकी एक महिलाबाट रकम असुल गरिरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ३५ बर्षीय सम्बर बहादुर राईलाई धरानबाट रंगेहात पक्राउ गरेको हो । धरान ५ खैरेनीका २७ बर्षीय खुसुमाया मग्रातीबाट १२ हजार लिदै गर्दा उनी बिहिबार रंगेहात पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आफु हाल ब्रिटिस गोर्खा एरिया वेलफेयर सेन्टर जिरीखिम्ती तेह्रथुममा कार्यालय सहयोगी भएको दाबी गर्दै ठगी गर्न पुगेका थिए ।

उनले खुसुमायाका श्रीमान्लाई जागिर लगाइदिने भन्दै बिहिबार ५ बजे पैसा लिइरहेको बेला पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई आज(शुक्रबार) जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।