विराटनगर: प्रदेश नं १ मा हिजो शनिबार एकै दिन विभिन्न तीन जिल्लामा पोखरी र कुलोमा डुबेर तथा खोलाले बगाएर ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक र एक महिला छन् भने एक पुरुषको पनि ज्यान गएको छ ।

१ नं प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको भद्रपुर नगरपालिका १० का बासुदेव जोगीको १२ बर्षीय छोरा सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट दिउँसो १ बजे नै हिडेका बालक बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा राती साँढे ८ बजे बिष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शवको उद्दार गरी कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि मेची अञ्चल अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

खोलाले बगाएर महिलाको मृत्यु

यसैगरी, ताप्लेजुङको सिरिजंगा गाउँपालिका ४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्याउन गएकी भट्टराई बेलुका सम्म घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारमा मृत अबस्थामा फेला परेकी थिईन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

कुलोमा डुबेर १ जनाको मृत्यु

पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा स्थानीय थाम्सुङ खोलाबाट थाम्सुङ गाउँमा सिंचाईको लागि ल्याएको कुलोमा डुबेर स्थानीय ५४ बर्षीय पुर्ण बहादुर राईको मृत्यु भएको छ । शनिवार राती १० बजे उक्त कुलोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय रवीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।