धरान(डेस्क): १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा शनिबार पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएको छ । मृत्यु हुनेमा सुनसरीका २ जना छन् भने मोरङको एक र झापाको एक जना रहेका छन् । घाइते हुने पनि सुनसरीकै एक जना रहेका छन् ।

१ नं प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको रतुवामाई नगरपालिका ७ सिजुवाका शिव मुखीयाको १० बर्षीय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको हो । घरबाट शनिबार बिहान हिडेका आकाश साँझसम्म पनि घरमा फर्किएर नआएपछि परिवारले ईलाका प्रहरी कार्यालय सिजुवामा खबर गरेका थिए । घटनाबारे जानकारी पाएको प्रहरी टोलीले खोजतलाश गर्नेक्रममा रातको ९ बजे रतुवा खोलाको किनारमा आकाशको कपडा देखेका थिए । त्यसपछि, प्रहरीले खोलामा खोजि गर्दा उनलाई डुबेर मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानुनी प्रकृया पुरा गरी आवश्यक अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी, झापाको बिर्तामोड नगरपालिका ३ बिराटपोखरका रोशन बेसराको २ बर्षिय छोरा अजित बेसराको शनिबार अपरान्ह पौने ४ बजेको समयमा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घरनजिकै रहेको अदुवा खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली गएको थियो । प्रहरीले आवश्यक अनुसन्धान कार्य पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका ६ का ४० बर्षीय मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराईलाई केही समय पश्चात डुबीरहेको अवस्थामा स्थानीयले भेटेका थिए । घटनाबारे प्रहरीलाई खबर गराउना साथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरीको टोली खटिएर आवश्यक अनुसन्धान एवं कानुनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी सुनसरीको रामधुनि नगरपालिका ६ ईचोलका अन्दाजी ४५।५० को सरिलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत अबस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटिएको थियो । घटनाबारे आवश्यक अनुसन्धान कार्य पुरा गरी शवलाई पोष्टमार्टमको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी, सुनसरीको कोशीकटानमा रामधुनी ५ भुमरीचोकका १८ बर्षीय आयुष बस्नेत नुहाउने क्रममा डुबेर गम्भिर घाईते भएका थिए । उनलाई साथीहरुले डुबिरहेको अवस्थामा देखेपश्चात तत्काल उद्दार गरी जिल्ला अस्पताल ईनरुवा पुर्याइएको थियो । थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।