उदयपुरः जिल्ला अदालत, उदयपुरले एक ६ वर्षीया बालिका बलात्कारको मुद्दामा पीडकलाई १६ वर्षको जेल सजाय सुनाएको छ । साथै, पीडित बालिकालाई पीडकबाट २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतको आदेश छ ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले यस्तो आदेश गरेको अनलाइनखबरमा समाचार छ । उदयपुरको त्रियुगा नगरपालिका–६, लालपताका ४५ वर्षीय रामबहादुर विकमाथि ६ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोग थियो । उनीमाथिको अभियोग कसुर ठहर गर्दै जिल्ला अदालतले यो फैसला गरेको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिएको हो ।

विकले छिमेकी ६ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ बलात्कार गरेको अभियोग थियो । यो घटना ०७५ माघ १८ गते भएको बताइएको छ । प्रहरीले बलात्कार गरेको अभियोगमा पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।