चितवन: वयान लिने समय अभावको कारण आज पनि रवि लामिछानेसहित तीनै जना प्रहरी थुनामा नै रहने भएका छन् ।

चितवन जिल्ला अदालतमा वयान लिनको लागि कार्यालय समय सकिएकाले तीनै जना प्रतिवादी प्रहरीकै जिम्मामा पुगेका छन् । अदालतले प्रहरीकै जिम्मा लगाएपछि रविसँगै अर्का पत्रकार युवराज कँडेल र रुकु भन्ने नर्स अस्मिता कार्की पुनः थुनामै गएका छन् । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र राय अध्ययनपछि सरकारी वकिलको कार्यालयले तीनै जनाविरुद्ध अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर गरेको थियो । अदालतका अनुसार आईतबार अस्मिताको बयान सकिए पनि अन्य दुईको वयान गर्न समय अभाव भयो । सोमबार बिहान १० बजे न्यायाधीश हेमन्त रावलकै इजलासमा रवि र युवराजको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ।

सरकारी वकिल कार्यालयले तीन जनाबिरुद्ध आत्महत्यका लागि दुरुत्साहन कसुर अपराध गरेकोले हदैसम्मको सजाय मागदाबी गरेको छ । मुलुकी अपराध संहिताको दफा १८५ बमोजिम अभियोगपत्र दर्ता भएको हो । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनको मोवाइलमा रेडर्क भएको भिडियोको आधारमा चर्चित सञ्चारकर्मी लामिछानेसहित ३ जना पक्राउ परेका थिए । पुडासैनीले आफ्नो आत्महत्याको दोषी रवि, युवराज र अस्मिता भएकोले कडा कारबाही हुनुपर्ने भिडियामो बोलेका छन् । नयाँ मुलुकी ऐनले कसैलाई आत्महत्या गर्न बाध्य पारेको अवस्थामा ५ बर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।