इटहरी: नम्बर प्लेट बिनाकै गाडीमा रातारात धरान उपमहानगरपालिकाले चारकोशे झाडीमा फोहोर फाल्ने गरेको पाइएको छ ।

मंगलबार राती करीब ९ बजेको समयमा धरानको तीनकुनेबाट सेउती खोलासम्म फलोअप गर्दा नम्बर प्लेट बिनाको गाडीमा उपमहानगरले चारकोशे झाडीमा फोहोर फालेको भेटिएको हो । दुईवटा ट्रयाक्टर र एउटा ट्रकमा रातीको समयमा उपमहानगरपालिकाले चारकोशेमा फोहोर फालेको थियो । फोहोर फाल्न लैजादाँ बाटोमै फोहोर झर्ने र दुर्गन्ध फैलने समेत गरेको छ । वातावरण संरक्षण ऐन विपरीत फोहोर जंगलमा फालिदैँ आएकाले मानव जीवनमा गम्भीर असर परेको भन्दै पटक–पटक स्थानीयबासीले प्रश्न उठाउँदै आएको भएपनि उपमहानगरपालिकाले वेवास्ता गरेको छ ।

साँझ पाँच बजेपछि चारकोशेको बाटो यात्रा गर्न कठीन हुने गरेको स्थानीयबासीको गुनासो रहेको छ । मुख्य राजमार्ग छेउमै झाडीमा मरेका चौपाया फालेका कारण दुर्गन्धसँगै रोग समेत फैलने खतरा रहेको छ । धरानबाट दैनिक३७ टन फोहोर फ्याक्ने गरिएको छ । सेउती किनारमा फोहोर फालिनाले बर्खायाममा सो फोहोर बाढीले बगाएर रामधुनी पुर्याउने गरेको रामधुनीका स्थानीयले बताउँदै आएका छन् ।

जिल्ला बन कार्यालय सुनसरीका अध्यक्ष केशव गौतमले आँफूहरुले पटक–पटक उपमहानगरपालिकालाई जानकारी गराएपनि वेवास्ता गरेको गुनासो गरे । उनले भने, ‘हामीले पटक–पटक जानकारी गराएको भएपनि वेवास्ता हुँदै आएको छ, उपमहानगरको फोहोर गाउँमा आउँदा यहाँ रोगब्याध बढ्ने खतरा छ ।’सेउती किनारमा फ्याकेको फोहोरलाई खोलाले बगाएर दक्षिणी रामधुनी नगरपालिकाका क्षेत्रको खेतबारी र घरआँगनसम्मै पु¥याउने गरेको बताउँदै उनले बाढीको समयमा सिरिन्ज, प्लाष्टिक, बोतल बगाएर कृषकको खेतमा ल्याउने भएकाले समस्या भइरहेको बताए ।

यस बिषयमा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीसँग बुझ्दा उनले अहिले फोहोर पूर्ण रुपमा व्यवस्थित भइनसकेको स्वीकार गर्दै आँफूहरुले अहिले फोहोरबाटै बायोग्याँस निकाल्ने तयारीमा रहेको बताईन् । ‘राती फोहोर फाल्नुको कारण भनेको आजको फोहोर आजै फाल्ने नीति हो,’ उनले टेलिफोन सम्पर्कमा भनिन्, ‘बाटोमा फोहोर झरेर दुर्गन्धित भएको छ भन्ने कुरा गलत हो ।’ उनले बिगत एक बर्ष अगाडिबाट धरानमा सफा भएको दाबी गर्दै सहरको सुन्दरतामा ह्रास आउन नदिन राती फोहोर फाल्ने गरेको बताईन् । ‘फोहोर बासी नहोस् र दुर्गन्ध नफैलनका लागि हामीले ११ बजेसम्म पनि काम गरेको अवस्था छ,’ भण्डारीले भनिन्,‘अहिले हामीले धरान ६ मा बायोग्याँस निर्माणको अन्तिम तयारीमा छौं, यो दसैंपछि सञ्चालनमा आउँछ, पाइपलाइनबाट घरमै हामी ग्याँस पुर्याउने तयारीमा छौँ ।’

यता, इटहरी उपमहानगरपालिकाले पनि शहरको फोहोर चारकोशेमा फाल्दै आएको छ । फोहोर जलाउँने र सेफ्टी ट्याङ्कीको फोहोर समेत ल्याण्डफिल साइड बिनै जंगलमा फालिने गर्दा दुर्गन्ध बढेसँगै रोग लाग्ने खतरा छ । इटहरी क्षेत्रबाट अहिले दैनिक ५५ टन फोहोर निस्कने गरेको छ। उपमहानगरपालिकाले ४५ प्रतिशत फोहोर उठाएर व्यस्थापन गदैं आएको दावी गरेको छ। ग्रामीण क्षेत्रको अन्य फोहोर भने परम्परागत शैलीमा स्थानीयले व्यवस्थापन गदै आएका छन् । इटहरी उपमहानगरपालिका क्षेत्रका भित्री ग्रामीण क्षेत्र अहिले शहरीकरणका रुपमा विकास हुँदै गएको छ । ग्रामीण भेग पनि शहरीकरणका रुपमा विकसित हुँदै गर्दा ठूलो सहर मानिएको इटहरीले फोहोर फाल्ने ठाउँ नभएका कारण हाँसपोसा बन क्षेत्रमा पर्ने चारकेशे झाडीमा फोहोर फाल्दा तथा फोहोर नउठ्दा भने मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको स्थानीयबासीको गुनासो रहेको छ ।

fohor

त्यसो त तत्कालिन इटहरी नगरपालिका छँदा नै खनारमा पाँच बर्षका लागि दुई विघा १८ कट्ठा जग्गा लिजमा लिएर फोहोर व्यस्थापन गदैं आएको थियो । त्यसको सम्झौता ०७२ सालसम्म गरिएको थियो । तर, सम्झौता सकिनु एक बर्षअघि नै स्थानीय दलका नेताहरुले राजनीतिकरण गरेर खेप्नै नसक्ने गरि दुर्गन्ध फैलिएको भन्दै फ्याक्नमा रोक लगाएका थिए । पछिल्लो समय उमहानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएपनि ल्यान्डफिल साइडको व्यवस्था गर्नुपर्ने सर्त थियो । तर, उपमहानगरपालिकाले ल्याण्डफिल साइडको व्यवस्था गर्न नसक्दा केही बर्ष इटहरी क्षेत्रकै विभिन्न स्थानमा फ्याकियो । उपमहानगरपालिकाले जंगल क्षेत्रमा हाल फोहोर फ्याक्दै आएका कारण मुख्य राजमार्गमा सवार यात्रुहरु पनि यसको नकारात्मक प्रभावमा पर्ने गरेका छन् । १२ हजार ३ सय ८० हेक्टर क्षेत्रफल रहेको उक्त बन क्षेत्रमा २३ वटा सामूदायिक बन र केही क्षेत्रमा राष्ट्रिय बन पर्ने भएपनि देशको सार्वजनिक सम्पत्ति बन भएकाले यो मासिँदै गएकोप्रति नगरबासीहरु चिन्तित बनेका छन् ।

इटहरीमा कम्पनी फेरियो, लागनीकर्ता उही

इटहरी उपमहानगरपालिकाले यसअघि इन्भारो केयर कन्र्सन नामक कम्पनीलाई फोहोर उठाउने जिम्मा दिएको थियो । तर, उक्त कम्पनीले फोहोर नउठाएको गुनासो बढेसँगै उपमहानगरपालिकाले गत बर्षको असोज मसान्तबाट अर्को नयाँ कम्पनी ‘वेष्ट इन्भारो एण्ड मेनेजमेन्ड’ लाई ठेक्का दिएको छ ।

यसअघि इन्भारो केयरमै रहेका केही मानिसहरुको लगानीमा वेष्ट इन्भारो खोलिएको हो । उपमहानगरपालिकाले नयाँ कम्पनीलाई ठेक्का दिएको भनिएपनि उक्त कम्पनीमा पुरानै मानिसहरुको लगानी रहेको छ । वेष्ट इन्भारोले फोहोर उठाएर चारकोशेमा नै फाल्ने गरेको थियो । नयाँ कम्पनीलाईं मासिक तीन लाख रुपैयाँमा दिने सर्तमा २० बर्षको सम्झौता भएको वेष्ट इन्भारो केयरका व्यवस्थापक कृष्ण भट्टराईले बताए । यसअघि मासिक ५ लाख ९० हजार तिर्ने गरिएको थियो ।

आँफूहरुले केही समयका लागि वनमा फोहोर फालेपनि दीर्घकालीन रुपमा भने डम्पिङ साइटमै फोहोर प्रशोधन गर्ने उनले बताए । ‘हामीलाई पनि बन क्षेत्रमा फोहोर फाल्ने रहर हैन, बनको चिन्ता नै छ, तर बाध्यताले फाल्नु परिरहेको छ,’ उनले भने, ‘कवाडी टिप्नेले आगो लगाएर फट्याईँ गर्दिन्छन्, फोहोरमा आगो लगाएर तार टिप्ने गरेका छन् ।’

इटहरी उपमहानगरपालिकाका वातावरणीय अधिकृत पुष्पनारायण चौधरीका अनुसार फोहोरको अवस्था हेरेर स्थानीय मानिसहरुसँग मासिक १ सय देखि २० हजार सम्म पैसा उठाउने गरिएको छ । ‘फोहोरको अवस्था हेरेर मासिक उठाउने गरिएको छ,’ उनले भने, ‘अब ल्याण्डफिल साइडमा आवश्यक मेसिन जडान पूरा गरि फोहोर व्यवस्थित हुने विश्वास छ, ।’