इटहरी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन सैद्धान्तिक हिसाबाले हुने बताएका छन् ।

सुनसरीको रामधुनीस्थित झुम्का बजारमा थारु कल्याणकारी संघले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले भने,‘यो संविधानलाई गतिशिल दस्ताबेज मानेका छौँ, यसलाई संशोधन गर्दै जाने कुरामा हाम्रो प्रयास निरन्तर जारी छ ।’ उनले संविधान पूर्ण नभएको र यसमा धेरै कुरा समावेश गर्न बाँकी रहेकाले संविधान संशोधन सैद्धान्तिक हिसाबले गर्नुपर्ने तर्क गरे । ‘आदिवासी थारु समूदायलाई संवैधानिक प्रक्रियामार्फत शान्तिपूर्ण तरिकाले अगाडि बढाउँने छौँ,’उनले भने,‘हामी गतिशीलता र प्रगतिशीलमा विश्वास गर्ने मान्छे, निरन्तर समृद्धिको यात्रामा लैजाने संकल्प गरेका छौँ ।’

मुलुकमा राजनीतिक स्थिरता रहेको बताउँदै प्रचण्डले राष्ट्र समृद्धि र समाजबादको आधार तयार गर्न बाँकी रहेको उल्लेख गरे । उनले टिकापुर घटनाको कुरा उदृत गर्दै भने,‘हामीले टिकापुर घटनामा भएको कुरा बालुवाटारमा छलफल गर्दा सबै झुठा मुद्दा खारेजी गर्नुपर्ने भएकाले यो झुटा मुद्दा खारेज हुन्छ भन्ने विश्वास गरेको छु ।’ उनले अहिले हिरासतमा रहेका रेशम चौधरीको नाम उल्लेख नगरेपनि झुटा मुद्दा फिर्ता आउँने दाबी गरे । ‘माननीयहरुलाई जनताकै अगाडि ससम्मान रिहाई गर्नेछौँ भन्ने विश्वास व्यक्त गर्दछु, मसँगै आन्दोलन गरेका दर्जनौ साथीहरु अझै जेलमै हुनुहुन्छ, मलाई कति पीडा होला ?’ प्रचण्डले भने ।

prachanda-jitiya

उनले थारुहरुको मात्र आन्दोलन नभएर सबैको आन्दोलन रहेको बताउँदै यसको समाधानको बाटोमा आँफूहरु रहेको बताए । ‘जनताले संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्रको बिरोधमा धावा बोल्नेलाई सरकारले छुट दिन कुनै पनि हालतमा सक्दैन,’ उनले संविधान र लोकतन्त्रको बिरोध गर्नेलाई इङ्गित गर्दै भने, ‘हामी निरङ्कुश, सामन्ती र जनताको भावना विपरीत धावा बोल्न सक्दैनौँ र धावा बोल्नेलाई छुट दिन पनि सकिदैँन ।’ जनताले समृद्धि चाहेको र आँफूहरुले जनताको भावना अनुसार काम गर्न नसकेको बताउँदै प्रचण्डले नेपालीहरुको पहिचान र उनीहरुले प्राप्त गरेको अधिकारमा एक हुनुको विकल्प नरहेको बताए ।

थारु महिलाहरुप्रति इङ्गित गर्दै प्रचण्डले जितिया पर्व महिलाहरुको चाड रहेको र सन्ततीको खुशीका लागि बर्त बस्नु सकारात्मक सन्देश दिने बताए । ‘संस्कृतिमा संसारकै सबैभन्दा धनी देश नेपाल हो, भौगोलिक सुन्दरताले संसारका मानिसहरुलाई आकर्षित गरेको छ,’ उनले सम्बोधन गर्दै भने, ‘लामो समयदेखि म आन्दोलनमा लागेर परिवर्तन गर्न खोज्दा सबैभन्दा बढी सहयोग थारु समुदायबाट भएको छ ।’ विशेषगरी सामाजिक रुपान्तरणका निम्ति पश्चिम नेपालका थारुहरुको योगदान विशिष्ट रहेको बताउँदै उनले भने, ‘सामाजिक रुपान्तरणका निम्ति थारुहरुको योगदान विशिष्ट छ, तर राज्यबाटै उनीहरु बेपत्ता पारिएका छन् ।’