धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २६ औं स्वास्थ्य विज्ञान सम्मेलन बुधबारदेखि शुरु भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा.गुरु खनालले एक समारोहबीच उद्घाटन गरेका थिए ।

सम्मेलनका संयोजक तथा बालरोग विभाग प्रमुख डा.प्रकाश पौडेलका अनुसार पहिलो दिन कुल ८० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको छ । ‘४० वटा ओरल र ४० वटा पेपर प्रेजेन्टेशन भएको छ । यी अनुसन्धानले केही नयाँ कुरा पत्ता लगाएको हुन्छ, त्यसले उपचार र रोकथाममा सहयोगी हुन्छ,’संयोजक डा.पौडेलले भने,‘हामीले अपनाइरहेको उपचारको विधि, पद्दतीमा सुधार गर्न मात्र होइन, सरकारको स्वास्थ्य नीतिमा सुधार गर्नुपर्ने छ भने पनि यी अनुसन्धान पत्रहरुले मार्गनिर्देश गर्छ ।’

हरेक बर्ष बार्षिकोत्सवको अवसरमा हुने यो सम्मेलनमा प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्सहरुले गरेको शोध तथा अनुसन्धान पत्र प्रस्तुत गर्ने गरिन्छ । यसपटक तीन दिनसम्म कुल २ सय १० वटा शोध तथा अनुसन्धान पत्रहरु प्रस्तुत हुने र छलफल गर्ने आयोजकले जनाएको छ । यसपाली प्रतिष्ठानको बालरोग विभागले सम्मेलन आयोजनाको जिम्मा पाएको छ ।

bpkihs1

वीपी प्रतिष्ठान विरामीको उपचार गर्ने अस्पताल मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने पनि थलो हो । साथै, यहाँ निरन्तर स्वास्थ्य अनुसन्धान पनि भइरहेको हुन्छ । वीपी प्रतिष्ठान नेपालकै सबैभन्दा धेरै शोध तथा अनुसन्धानहरु हुने संस्था हो । ‘हाम्रो संस्थाको मिशननै उपचार, पठनपाठन र अनुसन्धान हो, उद्देश्य अनुसारकै काम भइरहेको छ,’निमित्त उपकुलपति डा.खनालले भने,‘यी अनुसन्धानहरुले उपचार पद्दतीमा नयाँ आविष्कार गर्छ । संसारमा नभएको कुरा पत्ता लाग्नसक्छ, र उपचार पद्दती नै परिवर्तन गर्छ ।’

बर्षेनी हुने यस्ता अनुसन्धानहरु प्रतिष्ठानको इन्स्टिच्युशनल इथिकल कमिटिबाट प्रस्ताव स्वीकृत भएपछि मात्र गर्न पाइन्छ । तीन दिनसम्म प्रस्तुत हुने शोध तथा अनुसन्धान पत्रहरुमध्येबाट उत्कृष्टलाई छनौट गरेर पुरस्कृत गर्ने आयोजक बालरोग विभागका एसिस्टेण्ट प्रोफेसर डा.शंकर यादवले जानकारी दिए । उनका अनुसार शोध तथा अनुसन्धान पत्रहरु प्रतिष्ठानमा भएको र इटहरी, इलाम, जनकपुरलगायत ठाउँमा पनि गरिएका छन् ।