धरान: हरेक शनिबार धरानको भानुचोकमा युवाहरु भेला हुन्छन् । त्यसपछि गन्तव्यतिर लाग्छन् ।

युवाहरुको यो टोली धराने हाइकर्स धरानमा आवद्ध हुन् । उनीहरु बिहानै साढे ५ बजे घण्टाघरमा भेला हुन्छन्, र ठिक ६ बजे गन्तव्यतिर लम्कन्छन् । उनीहरु सबै पदयात्री हुन् । गत बर्ष २०७५ माघ चौथो सातादेखि युवाहरुले धराने हाइकर्स धरान गठन गरेर निरन्तर हाइकिङ गइरहेका छन् । धरानभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरुमा पुग्ने यी पदयात्रीहरु महिनाको एक साता(शनिबार) भने धरान बाहिरको गन्तव्यमा जान्छन् ।

आज शनिबार पनि तिनै युवाहरु भानुचोकमा भेला भए, र गन्तव्य विजयपुर गढीतिर लागे । आजको पदयात्रा भने विगतको भन्दा फरक किसिमको भयो । उनीहरुले पदयात्राको क्रममा हिड्ने काम मात्र गरेनन्, मठमन्दिरको सरसफाई पनि गरे । आज वडा दशैंको सप्तमी अर्थात फूलपातीको दिन हो । दन्तकाली मन्दिरमा दिउँसो फूलपाती भित्र्याउने कार्यक्रम थियो । पदयात्रीहरुले बिहानै दन्तकालीसहित महत्वपुर्ण मठमन्दिर परिसर सरसफाई गरेर चिटिक्क बनाइदिएका थिए ।

hike

धराने हाइकर्स धरानका युवा विशाल थेवेका अनुसार टोलीले पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पाँचकन्या मन्दिर परिसरको फोहोर मैला संकलन गरेर सफाई गरेको थियो । उनीहरुले विजयपुर चोकमा पनि सफाई गरेर धरान उपमहानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा फोहोर पठाइदिएका थिए । ‘आजको पदयात्रा बिशेष भयो, दशैंको फूलपाती पनि भएकोले मठमन्दिरहरुको सरसफाई पनि गर्यौं,’थेवेले भने ।

धरानमा सेवक अभियानले पनि हरेक शनिबार स्वास्थ्यको लागि पदयात्रा गर्ने गरेको छ । यो हाइकर्स टोलीले सेवक अभियानबाट नै सिको गरेर यो अभियान शुरुवात गरेको हो । ‘हामी महिनाको एक साता शनिबार चै धरानबाहिर जान्छौं, अहिलेसम्म मोरङको याङशिला, बराहक्षेत्र नगरपालिका, धनकुटाको विभिन्न ठाउँहरुमा हाइकिङ गइसकेका छौं,’थेवेले भने ।

hikers-dh hikers4 hikers-dhrn hikres-dhrn hiking1