काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १४ गतेको उपनिर्वाचनमा धरानसहित भारतपुर महानगरपालिकाको वडा न. १६ मा भएको हारले पार्टीलाई गम्भीर धक्का लागेको औल्याएका छन् ।

नेकपाको स्थायी समिति बैठकमा आज पेश गरेको प्रतिवेदनमा अध्यक्ष प्रचण्डले उपनिर्वाचनको हारले पार्टीलाई बिशेष धक्का लागेको उल्लेख गरेका हुन् । उनले सरकारका कामलाई व्यवस्थित र संस्थागत बनाउन नसक्दा पनि उपनिर्वाचनमा गम्भीर नतिजा आएको टिप्पणी गरेका छन्। 'यो परिणाम पार्टीका लागि उत्साहप्रद विल्कुल रहेन',प्रचण्डले प्रतिवेदनमा भनेका छन्,'बरु यो परिणामलाई पार्टी र सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रूपमा लिन जरूरी छ।’

प्रचण्डले पार्टी एकतामा ढिलाइ, जनपरिचालन अभावले भक्तपुरको प्रदेश सभाको सिट गुमाएको प्रतिवेदनमा समेटेका छन् । सरकारको पाँच कमजोरी औल्याउने त्रममा प्रचण्डले सरकारले संघ, प्रेदश र स्थानीय तहको क्षेत्राधिकारसँग सम्बन्धित कानुन निर्माणमा ढिलाइ भएको प्रतिवेदनमा उल्लेख गरेका छन्। यस्तै, निजामती सेवासँग सम्बन्धित कानुन र नागरिकता सम्बन्धी कानुनदेखि तीन तहका सरकार प्रभावकारी बनाउन ध्यान नपुगेको उल्लेख गरेका छन्। साथै, कानुन निर्माण गर्दा सरकारले तयारी राम्रो नगरेको पनि टिप्पणी गरेका छन्।

प्रचण्डले सरकारले कतिपय आवश्यक संवैधानिक र राजनीतिक नियुक्तिमा ढिलाइ गर्दा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।'संवैधानिक र राजनीतिक नियुक्ति गर्दा समावेशी र समानुपातिक मान्यताका आधारमा सन्तुलन मिलाउने कुरामा ध्यान दिन जरूरी छ',प्रचण्डले प्रतिवेदनमा भनेका छन्। उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सामाजिक सुरक्षाको क्षेत्रमा प्रगति गर्न नसकेको टिप्पणी गरेका छन्।

कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले बैठकमा प्रतिवेदन प्रस्तुत गरे पनि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिवेदनमा हस्ताक्षर गरेका छन्। प्रचण्डले पार्टीको सचिवालय बैठक समेत सारेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा प्रतिवेदन तयार पारेको बताइएको छ । सचिवालय बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने क्रममा अध्यक्ष ओली भने सहभागी थिएनन् ।

प्रतिवेदनको पाँचौं बुँदा उपनिर्वाचनको समिक्षाको सम्बन्धमा यस्तो छ:

एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य र ४८ स्थानीय तहका रिक्त स्थान समेत गरी जम्मा ५२ स्थानका लागि भएको उप-निर्वाचनको परिणामले अन्य राजनीतिक दलका साथै हाम्रो पार्टीलाई समेत केही गम्भीर प्रश्न र शिक्षा दिएको छ । समग्र परिणामलाई सामान्य रुपमा हेर्दा कास्की-२ को प्रतिनिधि सभा सदस्यमा हाम्रो उम्मेद्वार पहिले जस्तै भारी मत अन्तरले बिजय भएको उत्साहप्रद स्थिति छ भने तीन वटा प्रदेश सभा सदस्य मध्ये दाङ र बाग्लुङमा पनि हाम्रो पहिलेकै स्थिति कायम नै रहेको छ । भक्तपुरको प्रदेश सभा सदस्यमा हाम्रो परायज भएको छ । हाम्रो हातबाट त्यो स्थान काँग्रेसको हातमा गएको छ । स्थानीय तह मध्ये हाम्रो पार्टीले पहिले बिजय हासिल गरेका आठ स्थान यसपटक गुमाउन पुगेको छ भने नेपाली काँग्रेस लगायत अन्य दलले पहिले विजय गरेका ११ नया स्थानमा यसपटक हामो पार्टी विजय हासिल गरेको छ । १८ स्थान हाम्रो पार्टी पूर्ववत कायम राखेको छ । स्थानीय तह मध्ये धरान उपमहानगरपालिका पराजय र चितवन जिल्लामा मुख्यतः भरतपुर महानगरपालिकाको १६ नं। वडामा भएको पराजयले हाम्रो पार्टीलाई विशेष धक्का दिएको छ।

परिणामको उपरोक्त आंकड़ा हेर्दा संख्यात्म दृष्टिले हाम्रो पार्टीको विजयी जन प्रतिनिधिहरूको संख्या पहिलेको भन्दा बढेको छ । पहिलोको २७ को संख्या अहिले ३२ मा पुगेको छ । तर यथार्थमा गएर बिचार गर्दा यसबाट हामीलाई उत्साहित हुने ठाउँ भने विल्कुलै छैन । किनकी २०७४ को निर्वाचनमा स्थानीय तहमा तत्कालिन नेकपा ९एमाले० र तत्कालिन नेकपा (माओवाद केन्द्र) आपसमा प्रतिष्पर्धा गरेको अवस्था थियो । अहिले पार्टी एकीकृत भएर जाँदा स्थानीय तहमा हाम्रो संख्या एउटा पनि नघटी ११ भन्दा अझ बढ्न पर्ने थियो । त्यसमाथि प्रदेश सभाकै एक स्थान पनि हाम्रो हातबाट गुम्नले परिणामलाई गम्भीरतापूर्वक लिनपर्ने बनाएको छ । आमरुपमा यो परिणाम पार्टीका लागि उत्साहप्रद विल्कुल रहेन । बरु यो परिणामलाई पार्टी र सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रुपमा लिन जरुरी छ ।

सामान्यतः पार्टी एकतामा ढिलाईका कारण लामो समयसम्म पार्टी कमिटि बिहिन रहन, संस्थागत रुपले जनपरिचालनको अभाव हनको नकारात्मक प्रभाव निर्वाचन परिणाममा पर्न गएको छ । ठोस रुपमा हेर्दा भक्तपुर-१ क मा नेपाली कांग्रेस र राप्रपाबीचको गठबन्धनले विजयका लागि निर्णायक भूमिका खेलेको देखिन्छ।