इटहरी: हस्पिटालिटी र होटल म्यानेजमेन्ट सम्बन्धि तालीमको लागी स्विस नागरिक होस्टेट्लेर मार्कुस केही दिन अघि इटहरी आएका थिए । एक महिनासम्म पुर्वी नेपाल घुमेका उनले जाने बेलामा नेपाल देश सुन्दर भएपनि मानिसको व्यवहार फोहोर भएको टिप्पणी गरे ।

नेपालीहरु सफा हुने तर सडकमा जथाभावी प्लास्टिक र बोतल फ्याकेर दुर्गन्ध फैल्याएको उनको टिप्पणी थियो । सहर बाहिर जादा नेपाल धेरै सुन्दर देखिन्छ तर मान्छेको बस्ती भएको ठाउँ जानै मन नलाग्ने खालको भएको उनको भनाई थियो । उनी ४ बर्ष पहिला पनि नेपाल आएका थिए । त्यसबेला पनि काठमाडौ फोहोर नै थियो । ‘बाहिर अलिक सफा थियो तर अहिले सबैतिर उस्तै फोहोर लाग्यो,’उनले भने,‘ स्विजरल्यान्डमा स्कुलका बच्चाले पनि फोहोर फ्याक्यो भने टिप्न लगाइन्छ । यहाँ त चुरोट खाएर जथाभावी फ्याक्दा पनि केही नहुने रैछ ।’

उनले नेपालले सधै पर्यटन क्षेत्रमा उत्सव मनाउन सक्ने बताए । सबै कुरामा सरकारको मात्र भर परेर नहुने र नागरिक आफै सचेत नभइ बिकास नहुने उनको बुझाई छ । हिजो जनवारी १ मा सरकारले नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गरेको छ । संघ, प्रदेश र विभिन्न स्थानीय तह सरकारले पनि भ्रमण बर्षको शुरुवात गरेका छन् । सरकारले सन् २०२० मा २० लाख बिदेशी पर्यटक भित्राउने लक्ष्य राखेको छ । सोही अनुसार सहर, बजार र सामाजिक संजाल रंगीएका छन् । तर विदेशी पर्यटकहरु भने निराश देखिन्छन् ।

road-dharan-itari

मार्कुसकै भनाईलाई हेर्दा सहर बजारमा देखिएको धुलोधुवाले विदेशी पर्यटकलाई विकर्षित गरिरहेकोछ । प्रदेश १ कै केन्द्र भागमा रहेको इटहरी अहिले धुलोले भरिएकोछ । केही महिना अगाडी राजमार्ग आसपासका रुख काटेपछी इटहरी धुलोको सहर बन्न थाल्यो । त्यतीमात्र हैन इटहरी उपमहानगरपालिकाले नगर भित्रको फोहोर व्यवस्थापन गर्न नसक्दा चारकोशे झाडी प्रदुषित हुदै गएको छ ।

पर्यटन नगरी भनेर चिनाउने धरानको पनि त्यही हातल छ । खाल्डा परेका सडक र जंगलमा फ्याकीएको फोहोरले धरानको सुन्दरतामा दाग लगाएकोछ । इटहरी–धरान यात्रागर्ने जो कोहीले प्लास्टीक जन्य फोहोर जलेको पिरो धुवा भोग्नै पर्छ । बिकास र समृद्धीका योजना बनाएका तिनै तहका सरकारले फोहोरमैला व्यवस्थापन र धुवाधुलो नियन्त्रण गर्ने प्रयास नगर्दा भ्रमण बर्षको अभियानमा व्यवधान पुग्ने देखिन्छ ।

अहिले नेपालमा निमार्ण र समृद्धिको दोहोरो अभियान चलेकोले यो अवस्था आएको धरानका पर्यटन व्यवसायी बासुदेव बराल बताउँछन् । पर्यटन बर्ष मनाउँदा सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य पुरा गर्नसके पनि पर्यटकहरुले लैजाने सन्देश गलत भयो भने त्यसले गम्भीर असर गर्ने उनको तर्क छ । पर्यटन बर्ष मनाउनु गलत नभएपनि यसलाई व्यवस्थीत गर्ने बिषयमा केही कमजोरी भएको उनको भनाईछ ।

road1

अर्का पर्यटनकर्मी भवेश श्रेष्ठ यो पुर्ण तयारीबिनानै सुरु गरीएको अभियान भएको बताउँछन् । अहिले निमार्णको अवस्थामा रहेकोले अलिक हतारोका अभियान चालिएको उनको तर्कछ । ‘अहिले पनि अधीकांश होटेलमा दक्ष जनशक्तीको अभाव छ । पर्यटन प्रतिको चेतना गाउँगाउँमा पुग्न सकेको छैन । विदेशी भन्ने बित्तीकै दुख दिने र पैसा लुट्नुपर्छ भन्ने सोच हाबी छ,’उनी भन्छन्,‘सुरुमा पर्यटन चेतना जनतामा स्थापित गराउन जरुरी छ । तथापी सरकारले सुरु गरिसकेको अभियान भएकोले भएका कुराहरुलाई छिटोभन्दा छिटो व्यटिफीकेसन गरी भ्रमणबर्ष सफल बनाउनुपर्छ ।’ विदेशीहरु पोस्टर र व्यानरलाई फोहोरको नाममा बुझ्छन् तर नेपालमा त्यही व्यानर प्रयोग गरेर उनीहरुलाई निमन्त्रणा गरिरहेकोले आफुमा परिर्वतन ल्याउन आवश्यक भएको उनको भनाई छ । ‘त्यसको अलावा अनलाइन, सामाजिक सञ्जालबाट प्रमोशन गर्न तिर लाग्नुपर्छ,’उनी भन्छन् ।