धरान : सप्तरीका लक्ष्मण कुमार पासवानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा काम गरेको ३ बर्ष पुरा भयो । सुरुमा ज्यालादारीको रुपमा प्रवेश गरेका उनी दुई बर्षदेखि करारमा नियुक्त भएका छन् ।

टाढाबाट आउने कर्मचारीको सहजताको लागि खोलिएको आवासगृह (क्वाटर) मा उनले अहिलेसम्म ठाउँ पाएका छैनन् । केही समय अघि श्रीमतीसहित डेरामा बस्थे । बिरामी श्रीमतिको स्याहार गर्न नसकेपछि उनले घर पुर्याएका छन् । डेन्टल बिभागमा ल्याब टेक्नीसियनको रुपमा काम गर्ने उनी क्वाटर पाइएला की भन्ने आशमा छन् ।

उनी जस्तै आशमा छन्, जनकपुरका मनोज कुमार महतो पनि । ३ बर्षदेखी डेन्टल बिभागमै टेक्निसियनको रुपमा कार्यरत छन् उनी । पहिला श्रीमती संगै बाहिर भाडामा बस्ने गरेका महतो हाल एक्लै छन् । श्रीमती प्रसुती हुने समयमा क्वाटरको लागी धेरै पटक अनुरोध गरे तर उनको अनुरोध सुन्ने कोही भएन । सुत्केरी श्रीमतीलाई कोठामै राखेर हेरचाह गरे । पछी २ महिनाकी सुत्केरी श्रीमतीलाई उनले घर पुर्याएका छन् ।

भनसुन र पहुँचको भरमा क्वाटर बितरण भएपछी प्रतिष्ठानका पहुँच नभएका कर्मचारी समस्यामा छन् । प्रतिष्ठानको आवास कमिटीले निर्णय गरेपछि मात्र क्वाटर पाउने व्यवस्था छ । प्रतिष्ठानमा काम गर्न सुरु भएको ६ महिनामै क्वाटरमा बस्न पाउनेहरुको कारण पुराना कर्मचारीहरु अन्यायमा परेका हुन् ।

१२ सयको संख्यामा रहेको क्वाटरमा ४ सयको हाराहारीमा कर्मचारीहरु बस्छन् । बाँकी माथिल्लो श्रेणीका पदाधीकारी, डाक्टरहरुको लागी छुट्याइएकोछ । प्रतिष्ठानमा भर्ना भएको मिति र सम्बन्धीत व्यक्तीको घरको दुरीको आधारमा क्वाटर दिने व्यवस्था मिलाइएको हुन्छ । तर केही स्थानीय नेता र पहुँचको भरमा आवास कमिटीले क्वाटर बितरण गर्ने गरेको कर्मचारीहरु बताउँछन् । स्थानीय घर भएकाहरुले पनि क्वाटर प्रयोग गर्ने गरेकोले आफुहरु उपेक्षामा परेको उनीहरुको भनाई छ ।
अहिले प्रतिष्ठानमा क्वाटरको क्षमता नै कम भएकोले केही समस्या देखिएको आवास कमिटीका संयोजक अनुप घिमीरे बताउँछन् । लामो समयदेखि भद्रगोल रहेको प्रतिष्ठान भर्खर लाईनमा आउन लागेको भन्दै उनले आफुहरुले सके काम नियम संगत रुपमा गर्ने गरेको बताए । ‘ड्युटीको प्राथमिकता हेरेर हामी क्वाटर दिन्छौ,’उनले भने, ‘अहीले क्वाटर संख्या नै अपुग छ । यस विषयमा भिसी साब संग कुरा भइरहेकोछ ।’