धरान : किरातीहरुको मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाइने किराँत जन्य संस्थाहरूले निर्णय गरेका छन् ।

कोरोना भाइरस (कोभिड-१९)ले गर्दा किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले घर-घरमा पूजा मात्र गरेर मनाउन संस्थागत निर्णय भएको छ । तिथि अनुसार यो पटक वैशाख २५ गतेको उभौंली चाड परेको छ ।

कोरोना भाइरसको महामारीले संसारै लकडाउनमा छ,’ किराँत समन्वय समितिका संयोजक तथा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष रणवीर सुनुवारले भने, “त्यसैले गर्दा यो पटक किराँत चाड उभौली सार्वजनिक स्थलमा नमनाउने र नाच पनि प्रदर्शन नगर्ने निष्कर्षमा पुगेका छौँ ।” किरातजन्य संस्थाहरूको आ-आफ्नो समुदायलाई त्यसैअनुसार सर्कुलर जारी गर्ने टुङ्गोमा पुगेका छौँ ।’ समन्वय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् । सो विज्ञप्ति किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा, सुनुवार सेवा समाज र नेपाल थामी समाजले जारी गरेका हुन् ।

यायोक्खाका महासचिव जनक राईले यसअघि छुट्टै विज्ञप्ति जारी गर्दै यो वर्षको साकेला सांस्कृतिक विधि मात्र पुर्‍याएर चाड मनाउन आह्वान गरेका थिए । ‘यो वर्षको किराँत चाड उभौली साकेलालाई कुनै पनि देश वा स्थानमा बृहत् कार्यक्रमको रूपमा खुल्ला स्थानमा आयोजना गर्न, गराउन व्यवहारिक नहुने भएकोले,’ विज्ञप्तिमा भनिएको छ, ‘सांस्कृतिक विधिअनुसार पारिवारिक रूपले घरभित्र मात्र मनाउने र साकेला थानमा पनि परिस्थितिअनुसार सम्बन्धित ठाउँको आधिकारिक सरकारी निकायको समन्वयमा सीमित व्यक्तिको सहभागितामा उभौली पूजा गर्न, गराउन अनुरोध छ ।’

त्यसैगरी चुम्लुङका अध्यक्ष योगराज लिम्बूले कोरोना महामारीका कारण सार्वजनिक स्थलमा पूजाआजा र च्याव्रुङ नाच प्रदर्शन नगर्ने निर्णय गरेको बताउनुभएको छ । याक्खा छुम्माका केन्द्रीय अध्यक्ष लीलबहादुर रोगुले विश्वव्यापी महामारीका कारण सामूहिक पूजाआजा नगरिने जानकारी दिएका छन् ।

किराँती जातिले हरेक वर्ष अन्नबाली छर्ने बेलामा उभौली चाड मनाउने गर्दछन् । अन्नबाली राम्रो होस्, सुखशान्ति मिलोस् भनेर प्रकृति र पितृको पूजा गरी ढोल, झ्याम्टा बजाएर सामूहिक रूपमा नाच प्रदर्शन गर्ने गर्दछन् । अन्नबाली पाकेपछि मङ्सिरे पूर्णिमा तिथिमा उधौली पूजा गर्दछन् । यो चाडलाई किराँत राईले साकेला, लिम्बूले चासोक, याक्खाले चासुवा र सुनुवारले फोलषादर भनेर पुकार्दछन् ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणका कारण सीमित व्यक्तिहरूका बिचमा यस वर्षको बुद्ध जयन्ती प्रार्थना र पूजापाठ गरी मनाइने भएको छ । २५६४ औँ बुद्ध जयन्ती वैशाख २५ गते परेको छ ।