धरान : औजार प्रकाशन सहकारी संस्थाद्वारा सञ्चालित औजार अनलाइन टिभीको स्टुडियो शुभारम्भ भएको छ ।

धरान-९ आचार्य लाइनमा रहेको औजारको कार्यालयमा नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे तथा नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले स्टुडियोको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

२०६२ सालमा औजार प्रकाशन सहकारी संस्था ली बाट साप्ताहिक पत्रिका प्रकाशन सुरुवात भएको थियो । संस्थाले साप्ताहिक पत्रिका हुँदै लामो समयसम्म दैनिक पत्रिका र पछिल्लो समय रङ्गिन दैनिक पत्रिका सञ्चालन गरेको थियो ।

कोभिड-१९ कोरोना महामारीका कारण लकडाउन भएपछि पत्रिका प्रकाशन बन्द भएको हो । पत्रिका बन्द भए पनि समय अनुसार औजारलाई औजार न्युज डटकम र हाल अनलाइन टिभी सञ्चालन गर्न थालिएको संस्थाका अध्यक्ष मोतीराज सुनुवारले बताए ।

हाल औजार टिभी युट्युब मार्फत प्रसारण भइरहेको छ । सिभिले समसामयिक विषयमा सरोकारवालासँग प्रत्यक्ष कुराकानी गर्दै आएको छ । अध्यक्ष सुनुवारका अनुसार बिस्तारै टिभी मार्फत विभिन्न कार्यक्रम उत्पादन गरी प्रसारण गरिने बताए ।

Aujar Studio 2

खबरदारी गर्ने नेतृत्व गरोस् : घिमिरे

औजार अनलाइन टिभीको स्टुडियो उद्घाटन गर्दै नेकपा केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष देवराज घिमिरेले समाजको हरेक क्षेत्रमा प्रत्यक्ष सरोकार राख्दै सुसूचित गर्ने तथा हरेक क्षेत्रका नेतृत्वलाई सही मार्गमा हिँडाउन खबरदारी गर्ने नेतृत्व औजारले गर्ने आशा व्यक्त गरेका छन् ।

उनले यस अघि पनि औजार पत्रिका र अनलाइनले जनतालाई सुसूचित गर्दै आएको र विभिन्न चरणमा भएका राजनीतिक परिवर्तनमा समेत सक्रिय लागि परेको भन्दै प्रशंसा समेत गरे । पत्रकारिताको क्षेत्रमा सत्य कुरालाई बाहिर ल्याउने, गलत कुरालाई जनताको माझ भण्डाफोर गर्ने काममा औजार केन्द्रित हुनुपर्ने बताउँदै घिमिरेले औजार टिभीले आजकै दिनबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तथा पेसगत हिसाबले मात्र नभै समाजलाई सही बाटो देखाउनको लागि, सही नेतृत्व गर्नको लागि सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले औजार टिभी भविष्यमा स्याटलाइट टिभीको रूपमा प्रसारण गर्न सकोस् भन्ने कामना व्यक्त गरे ।

अहिले युट्युबमा सही सूचना भन्दा पनि समाजलाई हानी गर्ने खालका तथा नितान्त पारिवारिक कलहलाई देखाएर पैसा कमाउने तर्फ मात्रै ध्यान दिइरहेको भन्दै औजार टिभी त्यो भन्दा फरक तथा समाजप्रति उत्तरदायी भएर अघि बढ्न सुझाव समेत दिए ।