धरान : धरानमा आगामी वैशाख १०,११ र १२ गते तीन दिने बृहत् संस्कृत सम्मेलन हुने भएको छ ।

धरान-१४ विजयपुरमा रहेको पिण्डेश्वर विद्यापीठ र चन्द्र संस्कृत माविको संयुक्त आयोजनामा प्रदेश नं. १ स्तरीय तीन दिने बृहत् संस्कृत सम्मेलन आयोजना गर्न लागिएको पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले जानकारी दिए ।

सम्मेलनले गुरुकुलहरूलाई नियमन तथा व्यवस्थित गर्न र विद्यापीठका लागि विद्यार्थीको स्रोत जुटाउन मद्दत गर्ने बताइएको छ । कार्यक्रममा संस्कृत क्षेत्रका विभिन्न विद्वत् प्राध्यापक, डाक्टर गुरुहरूबाट विविध संस्कृत क्षेत्रमा देखा परेका समस्यामूलक १५ वटा कार्यपत्रहरू प्रस्तुत हुने बताइएको छ ।

कार्यपत्रमा उल्लेख भएअनुसार कार्यक्रमबाट प्रदेश नं. १ अन्तर्गतका संस्कृत क्याम्पस र माविहरूमा विद्यार्थी सङ्ख्यामा वृद्धि हुने, संस्कृत गुरुकुलहरूमा तह निर्धारण, पाठ्यक्रम निर्धारण, विषय निर्धारण र शिक्षक व्यवस्थापनमा सहयोग, पठनपाठनमा प्रविधिको प्रयोग, प्रदेश नं. १ मा आयुर्वेद, प्राकृतिक चिकित्सा विश्वविद्यालय स्थापनार्थ माहोल सिर्जना गर्न, संस्कृत शिक्षाप्रति आकर्षण बढाउन, गुरुकुलहरूलाई नियमन गरी एकरूपता कायम गर्ने जस्ता उपलब्धिहरूको अपेक्षा गरिएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि अनुमानित लागत १० लाख पच्चिस हजार लाग्ने अनुमान गरिएको छ । कार्यक्रमलाई व्यवस्थित, सभ्य र भव्य सम्पन्न गर्नका लागि एक मूल समिति गठन गरिए छ । जस अन्तर्गतका १२ वटा उपसमितिहरू गठन गरी धमाधम कार्य गरिरहेको कार्यक्रम मूल समितिका संयोजक प्रा।डा। चन्द्रमणि नेपालले बताए ।

कार्यक्रममा प्रदेश नं. १ अन्तर्गतका सम्पूर्ण संस्कृत शिक्षालयबाट २ जनाका दरले सहभागी हुने र कार्यक्रममा निमन्त्रित अतिथिहरूलाई खाना, यातायात, आवास सहितको सुविधा उपलब्ध गराउने पनि पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले बताए । कार्यक्रम पिण्डेश्वर विद्यापीठको सभाकक्षमा २०७८ वैशाख १०,११ र १२ गते तीन दिनसम्म हुनेछ ।

प्रदेश १ मा संस्कृत शिक्षा
नेपालको १ नं. प्रदेश संस्कृत शिक्षाको उर्वर भूमि मानिन्छ । यहाँ सदियौँदेखि चल्दै आएका धार्मिक गतिविधिहरूले संस्कृत शिक्षालय स्थापना र सञ्चालनमा विशिष्ट योगदान पुगेको देखिन्छ ।

२०६८ को जनगणनाअनुसार नेपाली संस्कृतभाषीहरु मध्ये ६५।९० प्रतिशत मानिसहरू तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा देखिन्छन् । यिनै संस्कृतानुरागी महानुभावहरूको तनमन धनबाट तथा सरकारको प्रत्यक्ष÷अप्रत्यक्ष साथ सहयोगबाट अहिले १ नं. प्रदेशमा संस्कृत पढाइ हुने ४० गुरुकुल, १२ संस्कृत मावि तथा २ संस्कृत क्याम्पस गरी ५४ संस्कृत शिक्षालय सञ्चालनरत देखिन्छन् ।

यसरी सञ्चालन भएका संस्कृत शिक्षालयहरूबिच आपसी अनुभवको आदानप्रदानमा कमी, समन्वयको अभाव, पढाइने विषयमा अनेकता जस्ता समस्याहरू देखा परेका छन् । यस प्रदेशमा द्वन्द्व कालअघि १६ संस्कृत मावि रहेकामा द्वन्द्वको चपेटामा परेर ५ वटामा संस्कृत बन्द भई साधारण माविका रूपमा रूपान्तर भएका देखिन्छन् भने द्वन्द्व कालपछि एक थप भई हाल १२ वटा सञ्चालनरत रहेका छन् ।

अभिभावकका रूपमा रहेका २ संस्कृत विद्यापीठ पनि पठनपाठनमा मात्र केन्द्रित भई संमावि गुरुकुलहरूसँगको साहचर्य समन्वयमा नरहेका कारण विद्यालय स्तरका शिक्षालयहरूले न्यानो छहारी प्राप्त गर्न नसकेको अवस्थामा पिण्डेश्वर विद्यापीठ र चन्द्र संस्कृत माविको संयुक्त आयोजनामा प्रदेश नं. १ स्तरीय तीन दिने बृहत् संस्कृत सम्मेलन आयोजना गर्न लागिएको हो ।