धरान : गत वर्ष ज्येष्ठ ७ गते धरान १३ को शिवधाराका एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भयो । धरानमा ठुलो हल्लाखल्ला भयो । अन्त मात्रै कोरोना सङ्क्रमित भेटिएको सुनेका धरानवासी त्रसित भए ।

बिरामीलाई अस्पतालमा लान समेत एम्बुलेन्स भेटिएन । यसले स्थानीय जनप्रतिनिधि धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलाई ठुलो समस्या पर्‍यो ।

कोरोना सङ्क्रमण पुष्टि भएको ४८ घण्टा सम्म बिरामी बोक्ने एम्बुलेन्स नपाउँदा अध्यक्षले बिरामीलाई हिँडाएरै भए पनि अस्पताल लैजाने सम्म भने । त्यति बेला धरानमा सार्वजनिक स्थानहरूमा भेला हुने भिडभाड हुने कार्यमा रोक लगाइएको थियो ।

Bhidbhad-2

देशैभर लकडाउन भएकोले यहाँ पनि लकडाउनलाई कडाइ गरिएको थियो । लकडाउनलाई कडाइ गरिएर सङ्क्रमण नियन्त्रण गर्ने धरान उपमहानगरपालिका र धरान प्रहरीले प्रयास गर्दा गर्दै पनि धरानमा ३५ सय बढीलाई कोरोना सङ्क्रमण भयो ।

यो सङ्ख्यालाई हेर्ने हो भने सुनसरी जिल्लाका अरू पालिकाको तुलनामा धरानमा सबै भन्दा बढी कोरोना सङ्क्रमितको तथ्याङ्क छ । कोरोना सङ्क्रमणकै कारण धरानमा मात्रै ७६ जनाको मृत्यु भएको छ ।

फेरि कोरोनाको दोस्रा लहर आएको बताइरहँदा धरानमा कोरोना सङ्क्रमणको नियन्त्रण र न्यूनीकरणको कुनै पहल भएको देखिँदैन ।

धरानका बजारहरूमा भिडभाड हुनु, अधिकांश मानिसले मास्क नलगाई हिँड्नु र सार्वजनिक स्थानमा बढ्दो भिडभाडसँगै सभा, सम्मेलन र कार्यक्रमहरू बाक्लोरुपमा भइरहेका छन् । यो नै कोरोना सङ्क्रमण हुनुको उच्च जोखिम भएको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

Bhidbhad-3

धरानमा एक सातामा ५९ जनामा कोरोना सङ्क्रमण

धरानमा गत वर्ष ज्येष्ठ ७ गते पहिलो पटक कोरोना सङ्क्रमण देखा परेको थियो ।

त्यतिखेर धरानमा लकडाउन थियो । यस पटक न लकडाउन छ न त स्वास्थ्य सर्तकताका लागि सावधानीनै अपनाइएको छ । यसै बिच धरानमा मात्रै यो एक हप्तामा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित सबै आ आफ्नै तरिकाले होम आइसोलेसनमा बसेका छन् । यसले गर्दा धरानमा कोरोना सङ्क्रमणको जोखिम उच्च भएको छ ।

Bhidbhad-4

कोरोना नियन्त्रणमा स्थानीय सरकारको चासो देखिएन

सरकारले कोरोना संक्रमणदर रोक्नका लागि विभिन्न निर्देशिकाहरू जारी गरेको छ । तर धरान उपमहानगरपालिकामा भने लागु भएको देखिँदैन ।

स्थानीय सरकार कोरोनाको जोखिम नियन्त्रण उन्मुख हुनुको साटो धरानको खानेपानी लगायतका समस्यामा अल्झेको छ । धरानका सडक र बजार सँगै विद्यालयहरूमा के कति स्वास्थ्य मापदण्ड अपनाइएको छ भन्ने बारेमा उपमहानगरपालिकाको ध्यान जान सकेको पटक्कै देखिँदैन ।

धरानको तरकारी बजारहरूको भिड हेर्ने हो भने कहाली लाग्ने गरी भिड हुने गरेको छ । त्यस्ता ठाउँहरूमा अलिकति पनि स्वास्थ्य सावधानी अपनाएको पटक्कै देखिँदैन ।

सामाजिक सङ्घसंस्थाको भूमिका पनि शून्य

धरानमा लकडाउनको बेलामा धरानका विभिन्न सामाजिक सङ्घ संस्थाहरूले सर्वसाधारणलाई कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण र न्यूनीकरणको लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

तर यस पटक पटकै कुनै किसिमको भूमिका खेलेको देखिएको छैन । त्यसैले सामाजिक सङ्घ संस्थाहरूले पनि यसबारेमा बेलैमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाउनु पर्छ ।

निष्कर्ष :

धरान पछिल्लो समय कोरोनाको हटस्पट बन्ने सम्भावना बढेर गएको छ ।

स्थानीय सरकारको बेवास्ता, सरकारी निर्णयको धरानमा कार्यान्वयन नहुँदा यो वर्ष कोरोना सङ्क्रमणले धरान आक्रान्त हुन सक्ने देखिन्छ । स्थानीय सरकार आफै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुने गरेको पाईएको छ ।

धरानका सार्वजनिक स्थानहरूमा कुनै किसिमको स्वास्थ्य मापदण्ड अपनाएको पटकै देखिँदैन । बढी मानिस भिडभाड हुने स्थानहरूमा सामाजिक दुरी कायम गर्न लगाउने, भिडभाड हुन नदिने जस्ता कुरामा स्थानीय निकाय र प्रहरी प्रशासनको ध्यान पुग्न अत्यन्तै जरुरी भएको छ ।

यो सँगै धरानमा खुलेका लाहुरे भर्तीका लागि ट्रेनिङ सेन्टरहरूले पनि आफ्नो विद्यार्थीहरूलाई निश्चित स्थानमा तालिम दिने र दौडाउने गर्नुपर्ने देखिन्छ । सयौँको सङ्ख्यामा युवाहरू दौडिदा सर्वसाधारण र बाटोमा हिडनेहरुलाई समेत समस्या हुने गरेको छ ।

यसमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । बेलैमा स्थानीय सरकारले नगरवासीलाई सचेत र सजग बनाएन र स्वास्थ्य मापदण्ड लागु गर्ने ह्विप जारी गरेन भने धरान कोरोनाको ठुलो हटस्पट बन्ने पक्का छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने धरान बाहिरकाहरुबाट पनि धरान असुरक्षित छ ।

त्यसैले बेलैमा सचेतता अपनाउनु जरुरी भएको छ । नगरवासी आफैले पनि कोरोनाको जोखिबाट जोगिन आफै सजगता अपनाउनु जरुरी भएको छ ।

Bhidbhad-1

तस्बिरहरू : धरानको भानुचौक पश्चिमको तरकारी बजारको भिडभाड