धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ ।

कोरोना महामारी कायमै रहेको भन्दै केही खुकुलो गरेर निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख छ ।

सुनसरी जिल्लामा निजी तथा सबै प्रकारका सार्वजनिक सवारीसाधन असार २३ गते देखी असार ३१ गते राती १२ः०० बजेसम्म जोर बिजोर प्रणाली अन्तर्गत जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर अनुसार तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न पाइनेछ ।

सवारी साधन सञ्चालन गर्दा कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाएको हुनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्नेछ। अनिवार्य रूपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्नेछ , अन्य तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ।

अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने निस्किनै परे नेपाल सरकारद्वारा तोकिएको दुई मिटरको दुरी, स्वास्थ्य मापदण्ड साबुन पानीले हात धुने, मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य रूपले पालना गर्नुपर्नेछ। कुनै पनि स्थानमा जम्मा भई भेला, जुलुस, सम्मेलन, हाट, मेला, जात्रा महोत्सव, पार्टी, भोज लगायतका भिडभाड हुने कार्य गर्न पाइनेछैन ।

कार्यालय सञ्चालनका लागि सरकारी कार्यालय, संस्थान तथा प्राधिकरण, बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले आफ्नो कार्यालयको प्रकृति अनुसार आलोपालो प्रणाली अपनाई सेवा प्रदान गर्ने गरी कार्यालय सञ्चालन गर्न पाउनेछ ।

पसल तथा व्यवसाय सञ्चालनको हकमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गरी सञ्चालन गर्न पाइनेछ ।

औषधी र स्वास्थ्य सामाग्री इन्धन व्यवसाय सम्बन्धी पसल पेट्रोल पम्प, खाना पकाउने ग्याँस, खाद्यान्न (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष), तरकारी, फलफूल, डेरी, मासुजन्य तथा बिउबीजन बिक्री गर्ने पसलहरू दिनै भरी सञ्चालन गर्न पाइने छ ।

जिल्लामा सञ्चालित कृषि थोक बजार बिहान ४ बजे देखी बिहान १० बजे सम्म सञ्चालन गर्न पाइनेछ ।यात्रुहरूको सुविधालाई मध्यनजर गरी राजमार्ग छेउछाउका होटल तथा रेस्टुरेन्टहरू बिहान ८ बजे देखी बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाउने तर भौतिक दुरी, साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग साथै कर्मचारी तथा कामदारले अनिवार्य मास्क तथा पन्जा प्रयोग गरेको हुनु पर्नेछ ।

अनुगमनमा स्वास्थ्य मापदण्ड अपनाएको नपाइएमा तत्काल उक्त होटल तथा रेस्टुरेन्ट बन्द गराई प्रचलित कानुन अनुसार कारबाही गरिने छ ।

सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, डान्स बार सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्नेछ ।

अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दुग्धजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु तोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेनटिन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइनेछ ।

Suchana-1 Suchana-2