धरान : नेपाल टेलिकमले धरान-१४ विजयपुर डाँडा गाउँ एरियामा एनटिसीको टावर संचालन छिटो ल्याउने भन्दै झुक्क्याएको पनि ६ महिना बितीसकेको छ ।

टेलिकमले ढिलोमा पनि गत बैशाख देखी फोर जी सेवा सहितको टावर सञ्चालनमा ल्याउने भने पछि खुसी भएका टेलिकमका प्रयोगकर्ता विजयपुरवासीहरु भदौ ९ गते सम्म पनि टावर सञ्चालनमा नआउँदा ठुलो समस्यामा परेका छन् ।

गाउँमा एनटीसी टावर समस्या भएकाले विद्यार्थी जानुका राई, रुविना विक, समिना आर्चाय, अनीश थापा लगायतका विद्यार्थी अनलाइन कक्षा लिन साथीको घर जाने गर्छन् ।

प्रविधिको परिवर्तन सँगै सहरी क्षेत्रमा पनि सबैले सबै ठाउँमा फोन चलाउन सक्ने गरी सेवा नदिने र निवेदन दिँदा पनि कुनै चासो नदेखाउनु टेलिकमको गैर जिम्मेवारी पन भएको भन्ने आम जनताको गुनासो छ ।

सरकारी स्वामित्वको संस्था हो भनेर यहाँ कार्यरत कर्मचारीले आएका गुनासोहरूलाई बेवास्ता गर्दा सेवा प्रवाहको गुणस्तरीयतामा कमी हुँदा एनटिसी प्रयोगकर्ता पनि निजी क्षेत्रको एनसेल फोन सेवा प्रवाहमा आकर्षित भएर सेवाग्राही सर्ने क्रम बढेको छ ।

निजी क्षेत्रको प्रतिस्पर्धा झन् तीव्र भएको छ । भने लेन लाइनमा सेवामा सेवाग्राही सन्तोषजनक भए पनि फोन र वाइफाईको सेवा प्रवाहमा खासै सन्तोषजनक छैन ।

धेरै वर्ष देखि विजयपुरमा मोबाइलमा नेटवर्क नटिप्नाले विजयपुरबासी मोबाइलमा कुरा गर्नका लागि घर बाहिर निस्किनुपर्ने र टावर कता टिप्छ भनेर सिग्नल खोज्नुपर्ने बाध्यता रहेको छ । अझ कहिले काहीँ विद्युत अवरुद्ध हुँदा त मोबाइलमा टावरको सिग्नल नै पनि हराउने गर्छ ।

विजयपुरको मण्डप चौकमा गणेश भण्डारीको जग्गामा राखिएको ३५ मिटर अग्लो नेपाल टेलिकमको टावर नेपाल टेलिकमले सञ्चालनमा ल्याउन ढिलासुस्ती गरेपछि विजयपुरको डाँडा गाउँ क्षेत्रमा मोबाइल सेवामा समस्या कायमै रहेको छ ।

५ किलोमिटरको सर्कलमा राखिएको उक्त टावरको फोर जी सेवा सञ्चालनमा आउँदा डाँडा गाउँ चौक, दन्तकाली मन्दिर, विजयपुरको मण्डप चोक, दुईधारे पथ, तिनधारे टोल, पिण्डेश्वर मन्दिर एरियामा र बुढासुब्बा मन्दिर आसपासका व्यत्तिहरु लाभग्राही हुने छन् ।

टावरको प्रतीक्षामा रहेका विजयपुरबासी टेलिकमका प्रयोगकर्ता प्रा.डा.राजेन्द्र शर्मा भन्छन् 'धरानको चर्चित ठाउँ विजयपुरमा मोबाइल सेवा अवरुद्ध हुन्छ भन्दा अचम्म लाग्छ। तर, यथार्थ हो । हामी टेलिकमले टावर राख्दा खुसी भएका छौ ।'

धरान शाखाका प्रमुख विनोद यादवले यस विषयमा कुरा गर्दा उनले भने- 'टावर निर्माण गर्न पटक पटक क्षेत्रीय कार्यालयलाई भनेको बताउँदै भने हाम्रो धरान कार्यालयबाट विद्युत मर्मत सम्भार कार्यको मात्र काम हुन्छ।'

वायरलेस निर्देशनालय काठमाण्डौका प्रोजेक्ट म्यानेजर प्रेम सिलवाले यस विषयमा कुरा गर्दा कर्मचारीहरू कोरोना सङ्क्रमित भएकाले सञ्चालनमा आउने भनिएको टावर सञ्चालनमा ढिला भएको जानकारी दिए । सिलवालले भने अब भदौ २० गते अगाडी नै टावर सञ्चालनमा आउँछ । समानहरू सबै काठमाडौँ आइ सकेको छ ।