नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले यति बेला मूलकभर काँग्रेसी नेता कार्यकर्तालाई तताइरहेको छ । वडा देखि केन्द्र सम्मको पदहरूमा नेताहरूले उम्मेदवारी दिने र नेतृत्व चुन्ने कुराको अहिले रस्साकस्सी चलिरहेको छ।

यही क्रममा धरान उपमहानगरपालिकामा पनि नेपाली काँग्रेसको चुनावी माहौल तातिएको छ। काँग्रेसको वडा अधिवेशन पछि असोज ९ गते स्थानीय पालिकाको अधिवेशन हुन गइरहेको छ । यो क्रममा धरानबाट दुई जनाले काँग्रेसको नेतृत्वका लागि दाबी गरी रहेका छन् । श्याम पोखरेल र किशोर राई दुई जनाको धरान उपमहानगर सभापतिमा दुवैको दाबी सहित चुनावी मैदानमा उत्रिएका छन् । यही क्रममा कपुरी न्युजले त्यही उम्मेदवार मध्ये सभापतिका उम्मेदवार श्याम पोखरेल सँग कुराकानी गरेको छ।

श्याम पोखरेल नेपाली काँग्रेसको निकै सक्रिय र जुझारु युवा नेता हुन् । २०५२ सालमा चन्द्र संस्कृत माविबाट नेविसंघको इकाई सचिव भएर राजनीति सुरु गरेका उनी २०५२ सालमा पिण्डेश्वर क्याम्पस इकाई कमिटीका सचिव, ०५६ सालमा महेन्द्र बहुमुखी क्याम्पसको उपसभापति, नेविसंघको जिल्ला सदस्य हुँदै नेपाली काँग्रेसको ११ औँ महाधिवेशनबाट साबिक धरान ५ को क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुन सफल भएका थिए । त्यस पछि पोखरेल हाल नेपाली काँग्रेसको धरान नगर सचिवको रूपमा रहेका छन् भने अहिले हुन गइरहेको १४ महाधिवेशनमा धरान नगर सभापतिको बलियो दाबेदार श्याम पोख्रेल सँग गरिएको कुराकानी :

नेपाली काँग्रेस धरान उपमहानगर समितिको चुनावमा सर्वसाधारणले चासो राख्नुपर्ने कारणहरू केही छन् ?

नेपाली काँग्रेस मुलुकको सबैभन्दा पुरानो पार्टी भएकाले जनताले चासो लिनु स्वाभाविक हो । अहिले जहाँ मन्छे भेला हुन्छन् त्यहाँ काँग्रेसको अधिवेशनको गफ हुन्छ र धरानको विकास निर्माण एवम् धराने जनताका समस्या देखि लिएर र यो पाँच वर्ष भित्रमा पार्टीलाई सर्वोपरि राखेर काम गर्न सक्ने नेतृत्व आउँछ कि आउँदैन भनेर चासो लिनु स्वाभाविक कारणहरू हुन सक्छन् ।

तपाई नगर सभापतिको उम्मेदवार । पहिले नगर सभापतिको चुनाव सम्पूर्ण क्रियाशील सदस्यहरूबाट हुन्थ्यो, यसपालि निर्वाचनमा क्षेत्रीय प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउँछन्, यसलाई सजिलो प्रक्रिया मान्नु हुन्छ कि अप्ठ्यारो ?

क्षेत्रीय प्रतिनिधि भनेका वडामा भएका क्रियाशील सदस्यहरूबाट छानिएर अर्थात् दही मथेर घिउ निकाले जस्तो निखारिएका नेतृत्वहरू हुन् । यस्ता निखारिएका नेतृत्वहरूले कार्यकारी नेतृत्व छान्ने प्रक्रियालाई मैले अप्ठ्यारो रूपमा हेरेको छैन । अहिले भएका सबै ४७०० क्रियाशील सदस्यहरूले यो अनुभव लिन पाउनु भएन तर नेतृत्व सही छानिने छ भन्नेमा म विश्वस्त छु ।

धरानको काँग्रेसी चुनावमा पार्टीको आन्तरिक मुद्दा के के छन् र तपाईँको मुद्दा के हो ?

सम्पूर्ण दलहरूको अधिवेशन कालमा आआफ्नो मुद्दाहरू हुन्छन् । मेरो व्यक्तिगत मुद्दा भन्दा पनि मैले मेरो समूहगत मुद्दा लिएर हिँडेको छु । हाम्रा मुद्दाहरू भनेका पार्टी संरचना एवम् भएका साथीभाइहरूलाई जोगाई राख्ने, पार्टीमा आकर्षण कायम राख्न क्रियाशील सदस्यता बढाउँदै जाने एवम् सङ्गठन विस्तार गर्दै जाने, यो भन्दा अगाडि पार्टी कार्यालय थिएन अहिले बनेको छ त्यसलाई पूर्णता दिने, आउँदै गरेको विभिन्न तहको चुनावमा जिताउनका लागि जोडदार पहल गर्ने गुट उपगुट परित्याग गरी सबैलाई समेटेर लैजाने ।

व्यक्ति भन्दा पनि पार्टीलाई हाबी गराएर म कामदारको रूपमा काम गर्छु । हाम्रो नेतृत्व पार्टीलाई जिताउने सफल पार्ने हो किनभने यहाँ अर्को पार्टी सँग चुनाव भएको छैन । त्यसैले पार्टी विधान एवम् पार्टी नियम भित्र रहेर हेर्दा यिनै मुद्दाहरू प्रभावकारी हुन्छन् ।

काँग्रेसले धरानमा इतिहास रच्दै मेयर जितेपछि काँग्रेसीहरू चाहिने भन्दा बढी हौसिएका छन् भन्न थालिएको छ नि तपाई के भन्नु हुन्छ ?

धरानको इतिहासमा पहिलो पटक मेयर जितियो त्यस कारणले केही साथीहरूमा उच्च महत्त्वाकाङ्क्षा देखियो होला सायद यो अनुभव नभएर हुन सक्छ तर यसलाई हौसियो भन्न मिल्दैन र हामी पार्टीका कार्यकर्ता हौसिएका छैनौँ र होइनौँ ।

तपाईँले पार्टी सचिव भएर एक कार्यकाल सक्नु भयो त्यस अघिको काँग्रेस नगर समिति र तपाईँको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?

म नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै आएको व्यक्ति हुँ । मैले सङ्गठनको ढाँचाहरू जानेको छु र म नगर सदस्य पनि भैसकेको छु त्यसै गरी १३ औँ महाधिवेशनबाट नगर सचिवमा निर्वाचित भई अहिले कार्यरत छु । म लगायत हाम्रो कमिटी यस कारण गर्व गर्न सक्छौँ कि हाम्रो कार्यकालमा पार्टी अफिस बनाउन सक्यौँ, मेयर पद जितायौ, मैले आफ्नै सभापतिलाई मेयर बनाउन सकेँ सभापति मेयरको उम्मेदवार हुँदै गर्दा खेरी पार्टीको सम्पूर्ण बागडोर त मैले समालेको हुनाले यो मेरो पाँच वर्षे सचिवको कार्यकाल स्वर्णिम अक्षरले लेखिने छ ।

मैले सचिव भएर काम गरेका हुनाले अहिले सचिवको उम्मेदवारी मिलाउन निकै हम्मे पर्‍यो र जहाँ बसे पनि काम राम्रो गरियो भने त्यो पद आफैँ आकर्षण हुन्छ । सचिवको रूपमा निर्वाह गरेको भूमिकामा म अत्यन्तै सन्तुष्ट छु ।

वर्तमान कार्यसमितिको उम्मेदवारका रूपमा तपाई संस्थापन पक्षका प्रत्याशी हुनुहुन्छ, नगर सभापति नै धरानमा काँग्रेसको मेयरका उम्मेदवार हुनसक्छ भन्ने ठानिएको बेला मेयर तिलक राईले किन सभापति पद दोहो¥याउन चाहनु भएन ?

हामी धरानको संस्थापन हौँ । मेयर तिलक राई भन्नु भएको थियो, नेतृत्व विकास एवम् परिवर्तन गर्दै लैजाने हो र म पनि एक कार्यकालको लागि मात्र सभापति उठ्छु भन्नु भएको थियो । उहाँले नेतृत्व विकास गर्ने सिलसिलामा यो कुरा भन्नु भएको थियो । मैले भनी सकेको छु “ म नगर सभापति भई सकेपछि म कुनैपनी पदमा उठ्दिन ।” नगर सभापति भए मेयरको टिकट पाइन्छ भन्ने भ्रम चिर्नलाई पनि मेरो उम्मेदवारी हो । जसले राम्रो काम गर्छ उसले नै भोलि टिकट पाउने हो सभापति भई राख्न जरुरी छैन ।

Int

धराने काँग्रेसको आन्तरिक राजनीतिमा गुट उपगुट, नयाँ–पुराना र जातिगत समूहको भूमिका पहिले देखी चल्दै आएको छ भनिन्छ, यी सबैलाई कसरी समेटेर पार्टीलाई एकताबद्ध बनाउनु हुन्छ ?

हामी पहिला नेपाली काङ्ग्रेस हाँ र सङ्गठित सदस्य भरसके पछाडि हाम्रो थरको पछाडि नेपाली काँग्रेस जोडिन्छ त्यसैले यहाँ भूगोलगत मिलाएर लानु पर्ने देखिन्छ । तर यहाँ केही साथीहरूले जातिगत कुरा उठाएको हो कि जस्तो गन्ध आएको छ । यस्तो भयो भने भोलि अन्तर पार्टी चुनाव लड्दा समस्या निम्त्याउँछ । अहिले त हार्दा पनि काङ्ग्रेसले हार्ने जिते पनि काङ्ग्रेसले जित्ने व्यक्ती न फरक हुने हो । त्यसैले यस्ता कुराहरू उठान गर्न हुँदैन ।

म जातीय कुरा पार्टी भित्र गर्ने पक्षमा छैन र यसलाई म सङ्कीर्ण सोच भन्छु र यो गर्न हुँदैन । प्रजातान्त्रिक पार्टीमा समूह समूह हुनुलाई अनौठो मान्न हुँदैन । तर अधिवेशनमा समूह बनाएर हिड्नै कुरा सामान्य कुरा हो यसलाई जातभात, लिङ्ग तिर लान हुँदैन ।

धरान उपमहानगरपालिकामा काँग्रेसको मेयर निर्वाचित भए पनि पार्टी लाई लाभ पु¥याउने काम मेयर तिलक राईले गर्नु भएन भन्ने गुनासो पनि सुनिन्छ नि ?

नेतृत्व सँग धेरै मान्छेले अपेक्षा गरेका हुन्छन् । सबैको कुरा पदले र हैसियतले पुर्‍याउन सकिँदैन । हामीले मेयर पदमा विजय हासिल गरेदेखि कोभिडको आक्रान्त सुरु भयो सोचे अनुरूप काम गर्न सकिएन । पार्टीलाई लाभ पुर्‍याउन पद होइन मेयरको पद यो त जनतालाई लाभ पुर्‍याउनका लागि हो । यो असन्तुष्टि पार्टीभित्र लाभ एवम् फाइदा लिन सकेन तिनै मानिसहरूको असन्तुष्टि हो यो । विकास निर्माणका कामहरू भइराखेका छन् र अब आउने चुनावमा बहुमत सहित चुनाव जितेर देखाउँछौँ तर पार्टीलाई मात्र लाभ दिने नेतृत्व जान हुँदैन नगरपालिकामा ।

तपाईँको टिममा उम्मेदवार रहेका पदाधिकारीहरू बिच चुनावी अभियानका लागि कामको बाँडफाँड गर्नु भएको छ ?

विशेष रूपमा त्यसरी काम बाँडफाँड गरिएको छैन । हामी सबैको उद्देश्य एउटै हो र आवश्यकता अनुसार सबै साथीहरू तत् तत् ठाउँमा पुगिरहनु भएकै छ ।

वडा निर्वाचकबाट आएका क्षेत्रीय प्रतिनिधिहरूको दुई तिहाइ संस्थापन पक्षमा छ भनी दाबी गर्नु भएको छ, उनीहरू यताउता हुने स्थिति त आउँदैन ?

हामीले दाबी गरेका छैनौँ । क्षेत्रीय प्रतिनिधिमा सबै आदरणीय व्यक्तित्वहरू नै आउनु भएको छ । हामीलाई माया गर्ने प्रतिनिधिहरू चैँ पक्कै आउनु भएको हो ।

अन्त्यमा चुनाव अभियान कसरी चलिरहेको छ ? खर्चबर्च पनि लाग्ला कसरी जुटाउनु भएको छ ?

यो घर भित्रको अधिवेशन हो । यहाँ पैसाको चलखेल किन ? अर्को पार्टी सँग चुनाव लड्या हो र तामझाम गर्नु पर्ने ?

हामीलाई खर्चको चटारो छैन किनभने हामी घरकै खाना खाइराखेका छौ । आफ्नै पार्टीका मानिसहरू सँग मत मागी राखेका छौँ । खर्च पछि अर्को पार्टी सँग लड्दा गरौँला र जजसले गर्दै हुनुहुन्छ सञ्चित गरेर राख्नुहोस् किनभने यो अधिवेशन घर भित्रको हो र हामीलाई खर्चबर्चको समस्या छैन ।

प्रस्तुति : सुधाकर पोख्रेल