प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अपराह्नकलामा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ ।

यस वर्ष भदौ ४ गतेदेखि सुरु भएको पितृ पक्ष आज असोज २० गते विधिवत् समापन गरिँदै छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्य अर्थात् औँसी तिथिको श्राद्ध गरिन्छ । कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय विधान रहेको छ। अथवा कुनै कारणवश यस समयमा पनि सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय विधान रहेको छ।

तर यी विकल्पहरू विशेष परिस्थितिका लागि मात्र दिएको हो।

चाडपर्व यज्ञयज्ञादि तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृका नाममा तर्पण एवम् पिण्ड दान गरे पितृ तृप्त हुने धार्मिक मान्यता रहेको छ ।

पितृ पक्षका बेलामा पितृ लोकबाट दिवङ्गत पितृहरू पिण्ड, पानीको आशले मर्त्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस सोह्र श्राद्धमा शास्त्रीय रूपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृले सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य समेत यी ग्रन्थमा उल्लेख गरिएको छ। यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ ।

वैदिक सनातन धर्मावलम्बीले ठुला माङ्गलिक कार्य गर्नु अगि गरिने नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, औँसी तिथिमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरू प्रचलित रहेका छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्दछ भन्ने शास्त्रीय मत रहेको छ । सोह्र श्राद्ध अनिवार्य अपराह्नकलामा गर्नुपर्छ भन्ने शास्त्रीय विधान रहेको छ । त्यसै गरी अरूको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ किनभने अरूको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्न भनिएको हो ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुने गर्दछ । भोलि २१ गते घटस्थापना भए सँगै नवरात्र प्रारम्भ हुँदैछ।