इटहरी : मङ्गलवारको अविरल वर्षापछि आएको बाढीले इटहरीका २ जनाको मृत्यु भएको छ । बाँकी २ बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसअघि २०७४ साउन २७ को बाढीले इटहरीमा ६ जनाको ज्यान लियो । १ हजार बढी परिवार घरबार विहीन भए । मुख्यतः ३, ४, ६, ९ र १० नम्बर वडा बढी प्रभावित भएका थिए ।

स्थानीय तहको निर्वाचन भएकै वर्ष आएको बाढीले पुरानै घटना स्मरण गराएको छ । जनप्रतिनिधिको कार्यकाल सकिने वर्ष नै इटहरीका बाढीको वितण्डा मच्चाएको छ । बेमौसमी रूपमा देखा परेको बाढी र डुबानको कारण इटहरी अस्तव्यस्त बनेको हो । यससँगै इटहरीको प्रमुख समस्याको रूपमा रहेको बाढी र डुबानको समस्या पुनर्ताजगी भएको छ । जनप्रतिनिधिले ५ वर्षमा पनि बाढी र डुबानको समस्या पुरा गर्न नसकेको प्रमाण मंगलबार देखिएको हो ।

इटहरीको मुख्य समस्या मानिएको सेरा खोला नियन्त्रण प्रभावकारी देखिएन । मंगलबार सेरा खोलाको तटबन्ध भत्किएर इटहरी छिरेको बाढीले तहसनहस बनाएको हो । स्थानीय तह निर्वाचन अगाडिदेखि नै सेराखोला नियन्त्रणमा पहलकदमी भए पनि अझै प्रभावकारी नियन्त्रण भएको छैन । इटहरीको मुख्य समस्या मानिएको खोला नियन्त्रण हुन सकेको छैन । जनप्रतिनिधि आएको ५ वर्षमा पनि बाढी नियन्त्रण र ढल निकासको विषयमा ठोस काम नदेखिएको मङ्गलवारको घटनाले प्रष्ट पारेको छ ।

नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी जनप्रतिनिधिलाई यसपालिको बाढीले गिज्याएको बताउँछन् । उनीहरू आएकै वर्ष इटहरीको समस्या सम्झाएको बाढी र डुबानले जाने बर्षपनि अझै समस्या कायमै रहेको प्रष्ट पारेको बताए । यसले के देखिन्छ भने जनप्रतिनिधिहरू औपचारिकतामै सीमित भएको तर जनताको समस्यामा उत्तरदायी नभएको पाईएको उनको भनाई छ ।

“भएका ड्रेनहरू समयमै सफा नगर्ने र खोला मिचेर संरचना बनाउँदा बाढी बजार नपसेर कता जाहोस् ?,” उनले भने, “स्थानीय सरकार आएको ४ वर्ष पुरा भयो । उनीहरू आए देखी यो समस्या झनै बढ्दै गएको छ । यो बिचमा धेरै सडक तथा पूर्वाधार निर्माण भए जसले पानी निकास रोकिएको छ । त्यसै कारण डुबान हुने क्रम बढ्दै गएको हो । ठुलो बस्तीमा पनि ससाना ड्रेन बनाएर औपचारिकता पुरा गर्दा यस्तो समस्या भएको हो ।”
यसअघि आफ्नै घर डुबान भएपछि प्रदेश सांसद सर्वध्वज सावाले जनप्रतिनिधि भएर पनि केही गर्न नसकेको स्वीकार गरेका थिए । फेसबुक मार्फत जानकारी गराउँदै उनले “बाढी पसेर घर चुर्लुप्पै भयो । आफै जनप्रतिनिधि कसलाई गुहार भन्नु,” भनेका थिए ।

इटहरीमा जस्तै पूर्वका दमक, बिर्तामोड, विराटनगर, चन्द्रगढी, इनरुवा, रङ्गेली लगायत बजारले डुबानको समस्या भोग्दै आएका छन् । त्यसमा पनि इटहरीको प्रमुख समस्याको रूपमा बाढी र डुबान देखा परेको हो ।

duban-itahari

खोला पैनी मिचेर निम्तियो समस्या

नेकपा एमाले नगर कमिटीको पार्टी कार्यालय पैनीमाथि निर्माण भएको छ । लामो समय देखी पार्टी कार्यालय बारे प्रश्न उठ्दै आए पनि कुनै सुनुवाइ भएको छैन । सार्वजनिक जग्गा खोजबिनमा अभियान चलाएका मेयर द्वारीकलाल चौधरी पैनी माथि बनेको कार्यालयको बारेमा जानकार छन् ।

इटहरी-५ स्थित सिमरबना सहकारी संस्थाको भवनले समेत पैनीको आधा क्षेत्र ओगटेको छ । पैनी मिचेर बनाइएको उक्त भवनको नक्सा पास समेत हुन सकेको छैन । इटहरीको मुख्य बजार भएर बग्ने खेती खोला मिचेर ‘हाम्रो इङ्लिस बोर्डिङ स्कुल’ सञ्चालन हुँदै आएको छ । ५५ देखी ७६ फिट सम्म लामो खोलाको भाग हाल खुम्चिएर २५ फिट भन्दा सानो भएको छ । खोलाको भागमा बोर्डिङको प्रशासनिक भवन अवस्थित छ ।मेयर द्धवारीकलाल चौधरीले खेती खोला सरसफाइ अभियान चलाएका थिए । बोडीङ मात्र हैन स्थानीयले घर, सडक तथा पार्टी प्यालेस बनाउँदा समेत खेती खोला जग्गा मिच्ने गरेका छन् ।

इटहरी-८ को नमुना कलेजको अवस्था पनि त्यस्तै छ । टेङ्ग्रा खोला मिचेर कलेजले चमेना गृह निर्माण गरेको छ । कलेज अगाडीको घर समेत खोलाकै जग्गामा निर्माण भएको । खोलाको किनारामा पर्ने बाटो समेत खिइँदै गएको छ ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पत्र समेत पठाएको थियो । ०७५ फाल्गुन ६ गते काटिएको पत्रमा आवश्यक विवरण सहित राय प्रतिक्रिया माग गरिएको छ । जसमा इटहरी ४ मा पर्ने खेती खोला अतिक्रमण गरेर बनाइएको हाम्रो बोर्डिङ स्कुल र इटहरी ८ मा टेङ्ग्रा खोला मिचेर बनेको नमुना कलेजको जग्गाको विषयमा स्पष्ट प्रमाण माग गरिएको थियो । तर अहिलेसम्म कुनै पनि कारबाही प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

सङ्घीय सरकारले स्थानीय सरकारलाई पठाएको पत्रानुसार खोला देखि ३० मिटर असापासको क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने व्यवस्था उल्लेख गरिएको छ । तर स्थानीय सरकारमा कति मिटरमा उपयुक्त हुन्छ भन्ने बारे एक समितिले अध्ययन गरेको छ । जसले टेङ्ग्रा र खेती खोलाको किनारमा संरचना निर्माण गर्दा ६ मिटर छाड्नुपर्ने प्रतिवेदन तयार पारेको छ ।

हाल रानी, विराटनगर, इटहरी, धरान सडक आयोजनाको काम धमाधम भइरहेको छ । सडक निर्माणको क्रममा पैनी तथा खोलाको आकार सानो बनाइएको छ । इटहरीको पानी निकास हुने टेङ्ग्रा खोलामा जम्मा ५ फिटको कल्भर्ट निर्माण गरिएको छ । इटहरीको मुख्य चौकमा सानो ह्युम पाइप राखेर पानीको निकास साँघुरो बनाइएको छ । सडक लगायत पूर्वाधार निर्माण गर्दा खोला तथा पैनीको निकासमा ध्यान नदिँदा हरेक वर्ष इटहरीले समस्या भोग्नुपरेको स्थानीय बताउँछन् ।