धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन जडान गरिएको छ ।

हिजो मङ्सिर २८ गतेदेखि मेसिन सञ्चालनमा आइसकेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिएका छन् ।

गत असार १६ गतेदेखि पदाधिकारीको कार्यकक्षमा रहेको तालाबन्दी मङ्सिर २१ को सर्वोच्च अदालतको आदेशको पालना गर्दै पदाधिकारीहरूको कार्यकक्षको ताला खुलेपछि अड्किएर रहेका कार्यहरू धमाधम हुन थालेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा सञ्चालित दुई वटा मेसिन मध्ये एउटा मेसिन बिग्रिएर काममा बाधा आएपछि विगत केही समय देखि बिरामीहरूको उपचारमा केही कठिनाइ महसुस भइरहेको थियो । उक्त मेसिन जडान भई दुइटा मेसिन सञ्चालनमा आएर बिरामीले सहज सुविधा पाउँदा धेरै राहत महसुस गरिएको छ ।

२५६ स्लाइस क्षमताको उक्त मेसिन उपत्यका बाहिर सञ्चालनमा आएको पहिलो दाबी गरिएको छ । उक्त मेसिनबाट द्रुत गतिमा स्क्यान गर्न सकिने हुँदा सिटी स्क्यान गर्दा बिरामीमा पर्ने विकिरणिय जोखिम पहिलेको मेसिनको तुलनामा अत्यन्तै न्यून रहेको बताइएको छ ।

सूक्ष्म भन्दा सुक्ष्मरुपमा गहिराई सम्म स्क्यान गर्न सक्ने साथै स्यानको क्षमता अत्यन्तै गुणस्तिरिय रहेको हुँदा रोगको निदान गर्न सहज हुने बताइएको छ । उक्त मेसिन नयाँ प्रविधिको र अत्याधुनिक भएकोले यसलाई सञ्चालन गर्ने विधिबारे रेडियोलोजी विभागका प्राविधिक कर्मचारीहरूलाई विज्ञबाट तालिम दिने कार्य सँगसँगै बिरामीहरूको सिटी स्क्यान गर्ने कार्य पनि भइरहेको बताइएको छ ।

उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाको भन्दा बढी बिरामीहरूको सिटी स्क्यान गर्ने लक्ष्य रहेको छ । अत्यन्तै सुलभ मूल्यमा सेवाग्राहीले सुविधा पाउन सक्ने उक्त मेसिनबाट प्रतिष्ठानका विद्यार्थीहरूको पठनपाठन तथा अनुसन्धानको कार्यमा पनि टेवा पुग्ने छ । बिरामीले सहज सुविधा पाउन थालिसके पनि हाल उपकुलपति प्रतिष्ठान बाहिर रहेकाले उक्त मेसिनको औपचारिकरुपमा हस्तान्तरण भने हुन बाँकी नै छ । औपचारिक हस्तान्तरण भएपछि उक्त मेसिनको औपचारिक उद्घाटन गरिने बताइएको छ ।

अत्याधुनिक सिटी स्क्यान मेसिनबाट मुटुको सिटी क्यान, मिर्गौलाको सिटी क्यान, लगायतमा उपयोगी हुने बताइएको छ। यो सँगै सिटी सम्बन्धी अन्य विशिष्ट जाँचहरू गरिने बताइएको छ । यसै गरी गत मसिंर २३ गतेबाट बिरामीको टिकट वितरणमा डिजिटल सेवाको सुरुवात भएको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसन मार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो भएको प्रतिष्ठानले जनाएको छ ।

उक्त प्रविधिले घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाएका छन् । यो सेवालाई अझ विस्तार गरी ल्याब परीक्षणका रिपोर्टहरू अनलाइनबाटै हेर्न मिल्ने एवं पेईङ तर्फको बिरामीको नाम दर्ता समेत यथाशीघ्र सञ्चालन गराउने लक्ष्य रहेको बताइएको छ ।

CT-Scan-Jadan