धरान : धरानमा पछिल्लो समय फेरी बाँदर आतङ्क बढेको छ ।

२०७० सालमा बाँदर पीडित सङ्घर्ष समिति गठन भएर धरानको बाँदर व्यवस्थापन गर्ने पहल र प्रयास भए पनि अहिले पछिल्लो समय फेरि धरानमा बाँदर आतङ्क बढ्न थालेको हो । 

२०७० सालमै बनेको बाँदर पीडित सङ्घर्ष समितिले धरानको बाँदर आतङ्क नियन्त्रण तथा न्यूनीकरणका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारलाई समेत ज्ञापन पत्र बुझायो । समितिका अध्यक्ष सकुल श्रेष्ठको नेतृत्वमा तीनै सरकारलाई ज्ञापन बुझाउँदा पनि समस्या समाधान अझै हुन सकेको छैन । पछिल्लो समय धरानमा बाँदर आतङ्कले सर्वसाधारण झन् आजित भएका छन् । यस विषयमा न त स्थानीय सरकारले गम्भीरतापूर्वक लिएको छ न त प्रदेश तथा सङ्घीय सरकारले नै ।

२०७० सालमा सुनसरी १ बाट सांसद बनेकी सावित्री जोशीले सदनमै धरानको बाँदर आतङ्कको विषयमा कुरा उठाएकी थिइन् । धरानको बाँदर आतङ्कको कुरा सदनमा उठाउँदा त्यहाँ उपस्थिति सांसदहरू समेत अचम्मित बनेका थिए । तत्कालीन सांसद जोशीले २०७६ फागुन ६ गते सदनमै कुरा उठाउँदा पनि यो विषय सांसद भवनमा मजाक बनेको थियो ।

तर यता धरानमा बाँदरको बदमासीले हैरान धरानेहरुले २०७० सालमा बाँदर पीडित सङ्घर्ष समिति गठन गरेर तीन वटै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । सङ्घर्ष समितिका अध्यक्ष सकुल श्रेष्ठले बारम्बार जानकारी गराउँदा समेत तीन वटै सरकारले आफूहरूको कुरालाई मजाकको विषय बनाएर गम्भीर नभएको बताउँछन् । समितिका अध्यक्ष श्रेष्ठले ‘स्थानीय, प्रदेश तथा सङ्घीय सरकारलाई समितिले पटक पटक ध्यानाकर्षण गराउँदा समेत गम्भीर नभएकोमा धरानको बाँदर आतङ्क सबैले मजाक जस्तै सम्झेकोमा पीडितहरू दुखी भएको बताए ।  बाँदरबाट विषेशगरी धरान १, २, ३, १२ र १४ का सर्वसाधारण सबैभन्दा बढी पीडित बनेका छन् । 

धरानमा त्यसै पनि बिजुलीका पोलमा टाँगिएका विभिन्न तारहरू लथालिङ्ग र अव्यवस्थित छ । त्यस माथि बाँदरको समुहनै झुन्डिने, हिँड्ने गर्नाले विद्युत सर्ट हुने ठुलो सम्भावना बढेको छ । धरानको पुरानो बजारका केही स्थानमा बाँदरलाई करेन्ट लागेर भुईँमा खसेर मरेको अवस्थामा सो क्षेत्र आसपासमा हिंस्रक र आक्रामक बाँदर बनिदिँदा झन् ठुलो समस्या भएको स्थानियबासीहरु बताउँछन् ।

पुरानो बजार क्षेत्रमा बाँदर घर भित्रै पस्ने र घर भित्रको खानेकुरा जुठो लगाउने, सर सामानहरू च्यातिदिने, फुटाइदिने समस्याले सर्वसाधारण आजित भएका छन् । यसै गरी धरान १४ विजयपुर क्षेत्रमा पनि बाँदरको आतङ्क उस्तै छ । पछिल्लो समय धरानका बाँदर अति हिंस्रक बनेको सङ्घर्ष समितिका संयोजक श्रेष्ठ बताउँछन् । बाटोमा हिडने मानिसलाई आक्रमण गर्ने देखि लिएर ठुलो उपद्रो  गर्ने गरेका उनी बताउँछन् ।

केही समय धरानको बाँदरलाई मङ्की क्याचरबाट पक्रेर अन्यत्र लगेर छाडिएको भए पनि पछिल्लो समय फेरि धरानमा बाँदरको सङ्ख्या बढेको संयोजक श्रेष्ठ बताउँछन् । अहिले धरानमा २ सय ५० सयदेखि ३ सयको हाराहारीमा बाँदर रहेको अनुमान रहेको छ । यसलाई तीनै तहका सरकारले मजाकको रूपमा नलिई गम्भीर रूपमा लिएर समाधान गर्नुपर्ने सङ्घर्ष समितिको माग छ ।

Badar