धरान : धरानमा सबैभन्दा पहिले बीए पास गरेर ‘वीएकृष्ण’ नामबाट चिनिएका कृष्णप्रसाद श्रेष्ठको निजी पुस्तकालयका १२ सय ४४ थान पुस्तक धरान उपमहानगरपालिकाको सार्वजनिक पुस्तकालयलाई प्रदान गरिएको छ । 

श्रेष्ठको  ८६ वर्षको उमेरमा गत वर्ष २०७७ मङ्सिर १४ गते निधन भएको थियो । स्वर्गीय श्रेष्ठका वयोवृद्ध श्रीमती राधिका श्रेष्ठ सहित परिवारका सदस्यहरूको उपस्थितिमा शुक्रवार धरान उपमहानगरपालिका कार्यालयमा मेयर तिलक राईलाई पुस्तकहरूको नामावली सूची हस्तान्तरण गरिएको छ । परिवारको संयुक्त निर्णय सहितको विवरण ग्रहण गर्दै मेयर राईले श्रेष्ठको निजी पुस्तकालयलाई सार्वजनिक पुस्तकालयमा तस्बिर सहित छुट्टै व्यवस्थापन गरिने वचन दिए । 

उनले भने ‘धरानको इतिहासमा कृष्ण दाइको जीवन सबै कुरामा गाँसिएको छ, राजनीति, साहित्य, शिक्षा र सामाजिक क्षेत्रका कुनै पनि प्रसङ्गमा धरानवासीले उहाँको नाम लिने गर्दछन् ।’ बीएकृष्ण नाम आफूले युवा कालमा सुन्दा किन बीएकृष्ण भनिएको होला ? भनी उत्सुकता लागेको कुरा मेयर राईले सम्झिए । नामैले पनि युवाहरूमा शिक्षाप्रतिको लगनशीलता बढ्ने गरेको अनुभव सुनाउँदै मेयर राईले भने ‘कृष्ण दाइको निजी पुस्तकालय उपमहानगरपालिकाको पुस्तकालयमा छ भन्ने कुराले पनि अलग्गै महत्त्व राख्दछ ।’

श्रेष्ठका भाइ शिक्षा सेवी चन्द्रप्रसाद श्रेष्ठले दाजु कृष्णप्रसाद श्रेष्ठले धरान नगरपालिकाको कार्यवाहक सभापति रहँदा निःशुल्क प्राथमिक शिक्षाको नीति लागु गरेको स्मरण गराउँदै भने ‘त्यही नीतिलाई अनुसरण गरेर नगर पञ्चायतले निःशुल्क प्राथमिक शिक्षाका लागि वडा वडामा पञ्चायत प्राथमिक पाठशाला स्थापना गरेको हो ।’ धरानमा वामपन्थीको सङ्गठन गर्ने पहिलो व्यक्ति श्रेष्ठ नै भएको उनले बताए । उनले भने ‘चालिस सालको दशक सम्म उनी नेपालको कम्युनिष्टहरुका केन्द्रीय राजनीतिमा सकिृय थिए ।’

स्वर्गीय श्रेष्ठ २०१७ सालमा धरान कानुनी रूपमा नगरपालिका घोषित हुँदा भएको पहिलो स्थानीय चुनावमा वडा कमिस्नर निर्वाचित भएका थिए । त्यस बेला नगरपालिका प्रमुखलाई सभापति भनिन्थ्यो । वडा कमिस्नरहरूबाट निर्वाचित सभापति केदारनाथ खनाल थिए । श्रेष्ठ २०१७ माघ १२ देखी २०१८ फागुन ३ गते सम्म धरान नगरपालिकाको कार्यवाहक सभापति रहेका थिए ।

पछिल्लो समय धरानको राजनीति, साहित्यका नयाँ पुस्ताका लागि श्रेष्ठ ‘इनसाइक्लोपेडिया’ थिए । राजनीति, साहित्य, इतिहास र संस्कृतिका उनी अध्येता थिए । उनको निजी पुस्तकालयमा सम्बन्धित विषयका किताबहरूको सङ्कलन छ । किताबको सौखिन उनी कुनै पनि चर्चित पुस्तक मगाएर, किनेर पढ्नेमा पहिलो व्यक्ति हुन्थे । कसैले कुनै किताबको खोजी गरे सबैले ‘वीएकृष्ण दाइ’ लाई देखाउने गर्दथे । 

उनीकहाँ पुस्तक खोज्दै पुगेकाहरूलाई उनको सर्त हुन्थ्यो ‘यहीँ बसेर पढ्न पाइन्छ, घर लैजान भने पाइन्न ।’ धरानमै उपलब्ध भए पनि उनलाई भेट्न त्यति सहज थिएन । उनलाई अगाडिबाट भेट्न आउने जानकारी नदिएकाहरूलाई श्रेष्ठ हतपत भेट दिँदैन थिए । राजनीति, साहित्य र भाषा संस्कृतिका विषयमा उनीसँग छलफल गर्न, अनुभव अनुमान सुन्न धेरै जना ललायीत हुन्थे । उनी जीवनकालमै मिथक बनेको कौतूहलमय व्यक्तित्व थिए । 

पुस्तकालय हस्तान्तरणका अवसरमा छोरा शम्भु श्रेष्ठले भने ‘जीवनकालमै उहाँले आफ्नो शेषपछि पुस्तकहरू चलिरहेको पुस्तकालयलाई प्रदान गर्ने इच्छा जनाउनु भएको थियो ।’ सोही अनुसार पारिवारिक बैठकले पुस्तकहरू धरान उपमहानगरपालिकाले सञ्चालन गर्दै आएका पुस्तकालयका लागि जिम्मा लगाउने निर्णय गरेको हो । अब कृष्ण दाईसंग भएका किताबहरू पढ्न चाहनेहरूलाई सहज भएको छ । उनका महत्त्वपूर्ण पुस्तकहरू पुस्तकालयबाट गायब हुने सम्भावनाप्रति उपमहानगरपालिका गम्भीर हुनुपर्ने छ ।

हस्तान्तरण गरिएका पुस्तकहरू अङ्ग्रेजी, नेपाली, हिन्दी र नेवारी भाषाका छन् । त्यस मध्ये अङ्ग्रेजी भाषाका ४६८, नेपाली भाषाका ७७६ पुस्तकहरू रहेको बताइएको छ । उक्त पुस्तकहरू श्रेष्ठले राजनीतिमा सक्रिय हुँदाको जीवनकालमा गरेको विदेश भ्रमणका बेला सङ्कलन गरेका हुन् । पछिल्लो समय विदेश तथा नेपालमा प्रकाशित राजनीति, अर्थ, साहित्य र संस्कृतिका पुस्तकहरू उनले किनेर सङ्कलन गरेकाहरू छन् । 

कृष्णप्रसाद श्रेष्ठ किताब मात्रमा नभई पत्रपत्रिका, म्यागेजिन नियमित पढ्ने र सङ्कलन गर्ने सौखिन पनि थिए । समसामयिक घटना, विकास क्रमको विश्लेषणका लागि सुसूचित हुन उनी सधैँ सजग रहन्थे । यसरी भएको पत्रपत्रिकाको करिब २ हजारको सङ्ख्यामा रहेको सङ्कलन श्रेष्ठले जीवनकालमै धरान स्थित पिण्डेश्वर विद्यापीठलाई प्रदान गरेका थिए । 

श्रेष्ठका पुस्तकहरू हस्तान्तरणको अवसरमा उनका श्रीमती राधिका सहित छोराहरू शम्भु श्रेष्ठ, शैलेष श्रेष्ठ, बुहारीहरू छोरीहरू पुष्पा, मञ्जु, अन्जु श्रेष्ठ उपस्थित थिए । भाइहरू चन्द्रप्रसाद श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ सहित नातेदारहरू पनि सहभागी थिए ।

BA-Krishna-1