धरान : आफ्नै श्रीमानको प्रमीसंग मिलेर हत्या गरी धरान-४ स्थित धरान-भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा शव फ्याल्ने दुई जना र ट्याम्पो चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले दिएको जानकारी अनुसार सुनसरी जिल्ला अदालतले गएको फागुन ४ गते धरान-४ स्थित धरान भेडेटार सडक खण्डको जेठामाने गोलाईको जङ्गलमा अलग अलग जेब्रा झोलामा टाउको र शरीर अलग अलग भेटिएको दिनेश सिग्देलको हत्यामा संलग्न उनकै कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । 

सो घटनामा संलग्न भएका शव व्यवस्थापनमा साथ दिने ट्याम्पो चालक स्थायी ठेगाना गौरदह नगरपालिका-४ धिमधिमे र हाल अस्थायीरुपमा विराटनगर महानगरपालिका-४ खार्जी बस्दै आएका ३२ वर्षीय खेमराज खत्री पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

उनले शव व्यवस्थापन गर्न विराटनगर देखि भेडेटार सम्म ल्याउन सहयोग गरेको भन्दै अदालतले ५ लाख धरौटी तोकेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसक्दा ट्याम्पो चालक खेमराज खत्री पनि पुर्पक्षका लागि कारागार चलान भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।