धरान: २०४९ सालको तत्कालीन स्थानीय निकायको निर्वाचनमा एमालेबाट धरान नगरपालिकाको मेयर बनेका थिए, ध्यानबहादुर राई । धरानमा उनी परिचित नाम हुन् । आधुनिक धरानको आधार उनकै कार्यकालमा तयार भएको थियो । अहिले उनी कम्युनिष्ट राजनीतिमा छैनन् । अशोककुमार राई नेतृत्वको समाजवादी पार्टी हुदै संघीय समाजवादी फोरम नेपालमा छन् ।

पार्टीका कार्यक्रमहरुमा धरानमा उपस्थिति जनाइरहने पुर्वमेयर राईले धरानलाई राम्ररी बुझेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । यद्यपी, उनले लामो समयदेखि सार्वजनिकरुपमा धरानको बिषयमा बोलेका छैनन् । तर, बिहीबार राती भने पुर्वमेयर राईले धरानका दीर्घकालीन महत्व राख्ने महत्वपुर्ण बिषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । उनले बुँदागतरुपमा पछिल्लो हाइटेन्सन लाइन विवाददेखि एडिबिको ऋण तथा अनुदानको खानेपानी परियोजना, पर्यटन, बिपी प्रतिष्ठान, एयरपोर्ट निर्माण, कर विवाद, ६ लेनको कोशी राजमार्ग र बसपार्कसम्मका बिषयमा टिप्पणी गरेका छन् ।
पुर्वमेयर राईले फेसबुकमा लेखेको विचार जस्ताको तस्तै:

धरानको वडा नं २० विष्णुपादुका हुँदै जाने विजुली राजमार्ग (हाइटेन्सन)विवाद एडिविको खानेपानी विवाद, एयरपोर्टको जग्गा कव्जा काण्ड, विपि भित्रको सवैखाले जवज र विकृती, चर्को कर प्रकोप आलोच्य छ्न् ।

१) हाइटेन्सन यसक्षेत्रको उत्पादित विजुली आयात निर्यात गर्ने राजमार्ग हो। ठेकेदारलाइ वढी तङ्ग गरे मेलम्ची हुने खतरा छ, त्यसो नगरौं । तर केवलकार,प्याराग्लाइडिङ लगायतको संभावनालाइ नष्ट नगरौं ।

२) विपिका भिसिहरु जवज गर्न र गराउँन सिपालु छ्न् । प्राथमिकतामा राख्नुपर्ने शिक्षण र स्वास्थ पुर्वाधार आफ्नै तुलनात्मक लाभमा आधारित हुने गर्छन् । धराने चलाख विचौलियाहरु सबै पार्टी भित्र छ्न्, चिनौं र पखालौं।

३)एयरपोर्ट्को लागि किनिएको जमिन चोर बाटोबाट बेच्न खोजिदैछ। साविक जग्गाधनीहरुलाई अन्याय हुनबट जोगाउं, किनभने यही परिस्थितिमा एयरपोर्ट बन्दैन, नझुक्याउं ।

४) एडिवी साहु भएको खानेपानी अलपत्र हुन नदिउं । प्रस्तावित खानेपानीको परिमाणकै कुरा ५० करोडले हुनेमा हामी केही अर्बमा फसिसक्यौं । विजयपुरको पानी ट्याङ्की नबन्दा कम्तिमा आधा धरान नयाँ संरचनामा जोडिदैन। त्यसैले जग्गा खरिदेर भएपनी निकाश निकालौं ।

५) करवारे पुनरावलोकन गर्नु आवश्यक छ । कर थपेर सुविधा थप्ने वा अपव्यय हुने कुरा रोकौं। र कोशी राजमार्ग विस्तार कार्यक्रम धरान प्रवेश भएपछि के हुन्छ अनि नयाँ बसपार्क निर्माण प्रगतिबारे के हुँदैछ, सुसुचित होऔं ।