धरान : १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज आइतबार विविध कार्यक्रम गरी मनाइँदै छ।  
कम्युनिस्ट आन्दोलन रक्षात्मक बनिरहेको अहिलेको समयमा श्रमिक दिवसको महत्त्व थप बढ्दै गइरहेको छ।  क्रान्तिको चालक शक्तिको रूपमा श्रमिक वर्गलाई मानिन्छ र समाजमा विद्यमान शोषणको जरालाई समूल नष्ट गरी शोषण रहित समाज निर्माण गर्नका लागि श्रमिक वर्गको एकता र बलमा आन्दोलन गरी समाजवादी क्रान्ति गर्ने र उनीहरूकै अभिनायकत्वमा वैज्ञानिक समाजवादी शासन व्यवस्था र समाज स्थापना गर्नुको विकल्प नभएको मार्क्सवादले सिकाएको छ।
अमेरिकाको सिकागो सहरमा १ मे १८८६ मा ३ लाख मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको  माग गर्दै आम हडताल गरे। तीन दिनपछि ४ मे मा सिकागोको “हे मार्केट” मा जम्मा भएको भिड हटाउन पुलिसले जबरजस्ती कारबाही गर्दा  कसैले भिडमा बम फ्याँकी दियो। त्यसैलाई निहुर बनाई पुलिसले मजदुरको भिडमा गोली चलाउँदा ८ जना मजदुर मारिए, ६० जना घाइते भए। कैयौँ मजदुरहरूलाई पक्डिए, र ४ मजदुर नेताहरूलाई झुन्ड्याएर मारिदिए।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसपछि १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी  यो मनाइरहेका छन्।
नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रूपमा सार्वजनिक बिदा दिन थालेको हो। 
सरकारले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको छ सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्ने गरेका छन्।