धरान : धरानमा खानेपानी सहज तथा उत्पादन बढाउनका लागि खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुको मुहान मर्मत गरिने भएको छ ।

खानेपानीको उत्पादन बढाउनका लागि सर्दु र खर्दुको मुहान मर्मत गर्न लागिएको हो । अहिले पानीको स्रोत समेत कम रहेको छ । पानीको स्रोतमा समेत चुहावट रहेको छ । मुहान आसपासका क्षेत्रमा चुहावट बन्द गर्नका लागि मर्मत गर्न लागिएको खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डका इन्जिनियर प्रशान्त अधिकारीले नगर प्रमुख तिलक राईको नेतृत्वमा सर्दु र खर्दुको मुहानहरू मर्मत गर्नका लागि निरीक्षण गरिएको जानकारी दिए । उनका अनुसार शनिवार र आइतबार निरीक्षण गरिएको हो । ‘यो धरानको मुख्य खानेपानीको स्रोत सर्दु र खर्दु पनि हो ।

सर्दु र खर्दुको मुहानहरू मर्मत गर्नका लागि शनिवार पनि नगर प्रमुख ज्यूको नेतृत्वमा आपगाँछीदेखि निरीक्षण गर्‍यौ । खर्दुमा गर्नुपर्ने काम स्लोप प्रोटेक्सन वर्कस छ, त्यसलाई चाहिँ अब सूचना निकालेर आरसिसी वाल लगाउँछौ, खर्दुको पानी चाहिँ आपगाछी हुँदै आउँछ,’ उनले भने । खर्दुको मुहान आसपास क्षेत्रमा अनावश्यक मानिसहरू प्रवेश गर्ने भएका कारण फोहोर हुने गरेको उनले बताए । उनले भने, ‘त्यो पनि हामी बन्द गर्छौ ।’

धरान-१३ स्थित विपि पार्कदेखि माथि पट्टी जलाधार क्षेत्र रहेको छ । उक्त स्थानमा खानेपानीको मुहान छ । इन्जिनियर अधिकारीले खानेपानीको मुहान अति संवेदनशील भएको कारण मानिसहरूको चहलपहल बढेको हुनाले उक्त क्षेत्रमा जान रोक लगाउने बताए ।

उनले भने, ‘त्यहाँ पनि मानिसहरूको चहलपहल बढेको हुनाले बन्द गर्छौ ।’ उनले सर्दुमा पनि निकै काम गर्नुपर्ने बताउँदै सफा खानेपानी ल्याउनका लागि मर्मत कार्यहरू गर्नुपर्ने बताए । त्यहाँ केही प्रोटेक्सन वर्कहरु गर्नुपर्नेछ, अलिकति च्याम्बर बनाउनुपर्नेछ, त्यो बनाइयो भने बर्खाको बेलामा पनि पानी ल्याएर सहज तरिकाले चलाउन सक्छौ,’ उनले भने ।

खर्दुमा पहिरोका कारण खानेपानीको पाइप नै बगाएर लग्ने स्थिति रहेको छ । ‘खर्दुमा मर्मत भनेको चाहिँ स्लोप प्रोटेक्सन हो, पहिरोको कारण खानेपानीको पाइप नै बगाएर लग्ने स्थिति छ, त्यसलाई चाहिँ हामी वाल बनाएर पहिरो पनि रोक्छौ,’ उनले भने ।

सर्दुको मुहान लामपाते झरना नजिकै च्याम्बर निर्माण गरिने भएको छ । ‘लामपाते नजिकै झरना छ, त्यहाँ एउटा च्याम्बर बनाएर, पाइप राखेर तल इन्टेकसम्म लिएर आउँछौ, बिचबिचमा ग्याबिनहरुको काम पनि गर्छौ, त्यो भएपछि पानीको उत्पादनमा चाहिँ धेरै पानी ट्याप गर्न सक्नेछौ ’ उनले भने । हिउँद र वर्षाको बेलामा पनि खानेपानी ट्याप गर्न सकिने अधिकारीको भनाई छ ।

सर्दुको फोहोर व्यवस्थापन तथा मर्मत कार्य एक महिनाभित्रमा सकिने भएको छ । खर्दुको विषयमा सूचना निकालेर टेन्डर प्रक्रिया अगाडी बढाउने बताउँदै इन्जिनियर अधिकारीले सकेसम्म काम चाडै सुचारु गर्ने जानकारी दिए ।

Khardu