इटहरी : प्रदेश १ को नाम टुङ्गो लगाउन सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिच सहमति भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनबाटै नामाङ्कनको विषय टुङ्गो लगाउने सहमति भएको हो । 

एमालेले नामकरण नामकरण सहजीकरण तथा समन्वय समिति गठन गरेरै नाम राख्नेबारे चासो दिएको छ । पूर्व मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा गठित समितिले आइतबार काङ्ग्रेससँग छलफल गरेको हो । 
एमालेबाट कार्की सहित प्रदेशसभा सदस्यहरू जीवन घिमिरे, अर्जुन राई एमालेका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारी छलफलमा सहभागी भए । काँग्रेसको तर्फबाट संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई र प्रदेश सभा सदस्य लीला सुब्बाको सहभागिता थियो । 
काँग्रेस सहित अन्य दलसँग पनि छलफलको तयारी गरेको एमाले यसै अधिवेशनमा नामाङ्कनको टुङ्गो लगाउनुपर्ने अडानमा छ ।  कुन नाममा सहमति हुने भन्नेबारे धारणा नबाएको एमालेले सहमतिमै अगाडी बढिने जनाएको छ । समिति संयोजक कार्कीका अनुसार साझा नामबारे सहमतिको प्रयास सुरु भएको छ । 
नेपाली काँग्रेसका प्रमुख सचेतक राईले यही अधिवेशनबाट नामको विषय टुङ्गोमा पुर्याउने एमाले र काङ्ग्रेसबिच सहमति भएको बताए । लामो समय एउटै विषयमा अड्किएर बस्न नहुने भन्दै उनले अन्य दलसँगको छलफलपछि निष्कर्षमा पुगिने धारणा राखे । सोही विषयमा निर्णय गर्न असार १ गते काँग्रेसले संसदीय दलको बैठक बोलाएको उनले जानकारी दिए । 
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश १ को नाम किरात राख्ने तयारीमा छन् । उता काँग्रेस एमालेले के नाम राख्ने भन्नेबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । खास गरी १ मात्र सांसद रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने पहिचानको आधारमा नाम राख्नुपर्ने धारणा राख्दै आएको छ।