धरान: प्रदेश नं १ को नाम र राजधानी तोक्ने सम्बन्धमा राजनीतिक कसरत तीब्ररुपमा अघि बढेपछि लिम्बुवान संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गरेको छ ।

संघर्ष समितिमा रहेको विभिन्न ८ घटकहरुले जारी गरेको संयुक्त विज्ञप्तमा प्रदेश नं १ को नाम किरात-लिम्बुवान राख्न प्रदेश सांसदहरुलाई अपिलसमेत गरिएको छ । प्रदेश १ को भुगोलको अवस्था, सामाजिक मनोविज्ञान, ऐतिहासिक, साँस्कृतिक र सो क्षेत्रमा उठेको राजनीतिक आन्दोलन एवं नामकरणको मागलाई मध्यनजर गर्दै बुहपहिचानको आधारमा किरात-लिम्बुवान नाम राख्न सकिने धारणा विज्ञप्तीमा खुलाइएको छ । सोही अनुसार प्रदेशसभा सदस्यहरुलाई पहल कदमी गर्न पनि संघर्ष समितिले अपिल गरेको छ ।

pic 1.

प्रदेश १ को नामकरणमा लिम्बुवान समावेश गराउन समितिमा आवद्ध घटक संगठनहरुबाट हुने आन्दोलनप्रति पनि संघर्ष समितिले समर्थन र ऐक्यवद्धता जनाउने पनि उल्लेख छ । संघर्ष समितिकोतर्फबाट संयुक्त विज्ञप्ती जारी गर्नेमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष शंखध्वज नेम्बाङ, नेपाल लोकतान्त्रिक किरात लिम्बु संघका अध्यक्ष त्रिवेणी चोङवाङ, लिम्बुवान प्रदेश सम्पर्क समिति संघीय समाजवादी फोरमका सचिव भेषराज चेम्जोङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(संघीय लिम्बुवान मञ्च)का केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ छन् ।

यस्तै, नेपाली कांग्रेससम्बद्ध लिम्बुहरुकोतर्फबाट उत्तमसिं थाम्देन, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बु वनेम, याक्थुङ युवा मञ्चका अध्यक्ष भुपेन्द्र खुदाङ र लिम्बु विद्यार्थी मञ्चका महासचिव उत्सव सम्बाहाम्फेले पनि संघर्ष समितिकोतर्फबाट हस्ताक्षर गरेका छन् ।