झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मङ्सिरको निर्वाचनपछि जनताको आदेश नभएको सरकारलाई पछारेर एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी गरेका छन् । 
झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी मनोनयनपछि दमकमा भएको सभालाई सम्बोधन गर्दै उनले गठबन्धन देशघाती भएको र यसलाई पछार्ने बताए । यो निर्वाचनले ठुलो फैसला गर्ने उनको दाबी छ । निर्वाचनले ठुलो फैसला लिने बताउँदै अध्यक्ष ओलीले अब मङ्सिर ४ पछि देशभक्त लोकतान्त्रिक विकासको अभियन्ता सरकार बन्ने उल्लेख गरे ।  
उनले यस वेलामा भ्रमपूर्ण, साम्प्रदायिक, क्षेत्रीयता र अनेक प्रकारका भ्रमपूर्ण कुरा छर्न सक्ने भन्दै सचेत रहन आग्रह पनि गरे । छोटो सम्बोधन गरेका ओलीले ०७४ को निर्वाचनपछि बनेको आफू नेतृत्वको सरकारले धेरै काम गरेको बताए । १५ महिनामा अहिलेको सरकारले देशलाई अधोगति तिर धकेलेको आरोप लगाए । 
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्ष्पर्धामा बहुमत ल्याउने र पुन एमालेकै नेतृत्वमा सरकार गठन हुने उनको दाबी थियो । 
यस्तै ओलीसँग गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन् । डा.अधिकारीले दोस्रो पटक एमाले अध्यक्ष ओली सँग चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् । मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै उनले अघिल्लो पटक आफू पराजित भए पनि यस पटक विजयी हुने दाबी गरे । यस्तै नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नम्बर ५ अन्तर्गतको प्रदेश 'क'तर्फ हिक्मत कुमार कार्की र 'ख'मा होम थापाले मनोनयन दर्ता गराएका छन् भने गठबन्धनका तर्फबाट प्रदेश १ तर्फ नेपाली काँग्रेसका जीवन राई र 'ख'तर्फ नेकपा माओवादी केन्द्रका गगन पुरीले मनोनयन दर्ता गराएका छन् ।