वैदिक सनातनी नेपालीहरूले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी साँझमा मनाइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधवारदेखि सुरु भएको हो।   
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । तत्पश्चात् पाण्डवहरू विराट राजाको दरबारमा आफ्नो अज्ञात बास पूर्ण गर्न सफल भएको उल्लेख छ। त्यसै गरी अर्को  पौराणिक कथन अनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । त्यसै बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ। 
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् किनभने सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको उपचारको समेत खोजी भइरहेको छ। 
आज छठको तेस्रो दिन अर्थात् छठ पर्वको मुख्य दिन । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार व्रत बसी साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । सूर्य पूजा गर्ने घाटलाई बेहुली झैँ सिंगारिएकॊ हुन्छ।  छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि कोही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । व्रतालुहरूले भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजालाई विसर्जन गर्दछन्।
यस पर्वमा मुस्लिम समुदायका व्यक्तिहरू पनि सहभागी हुने गर्दछन् र यो पर्व बिधिवत रूपमा मनाउने गर्दछन्। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख, चर्म रोग निवारण हुने तथा सम्पूर्ण मनोकामना पूरा हुने विश्वास गरिन्छ ।