धरान : सुनसरी क्षेत्र नं.१ को प्रदेश सभा (क) बाट नेकपा एमालेका उम्मेदवार रमेश कुमार बस्नेत विजयी भएका छन् । 
निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३ सय ५० मत अन्तरले पराजित गर्दै बस्नेतले जित हासिल गरेका हुन् । 
बस्नेतले ११ हजार १ सय २ मत ल्याउँदा काङ्ग्रेसका थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । प्रदेश सभा १ मा जम्मा ३९ हजार ७ सय १३ मत खसेकोमा ३७ हजार ९ सय ४२ मत सदर भएको थियो । 
दुई कार्यकाल गाविस अध्यक्ष चलाएका बस्नेत प्रदेश सभामा 
स्थायी शिक्षकको जागिरबाट राजीनामा दिई २०४८ सालमा बस्नेत पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । बस्नेत २०४९ सालमा साबिक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी भारी मतका साथ विजयी भएका थिए । 
२ कार्यकाल गाविस अध्यक्ष बस्नेतले सफलतापूर्वक सञ्चालन गरेका थिए । बस्नेत एमालेमा धरान नगर कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटीको सह-संयोजक, जिल्ला कमिटीको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै हाल एक नं. प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।
बस्नेत ४२ वर्षे राजनीतिक यात्रामा स्वच्छ छविका नेताका रूपमा चिनिन्छन् ।
बस्नेतलाई निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका उमेश थापाले माला र खादा लाएर बधाई दिएका छन् ।
shyam-n-ramesh