धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई दलित समुदाय अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न राष्ट्रिय दलित आयोगले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आयोगले आवश्यक कानुनी कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको पत्रमा ‘धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले मङ्सिर २७ गते मङ्गलवार आफ्नो फेसबुक वालबाट तराईको दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्ति प्रति आयोगले चासो प्रकट गरेको’ तर मेयर राईले बेवास्ता गर्नुका साथै उल्टै अर्ति उपदेश दिएकोमा ध्यानाकर्षण भएको उल्लेख छ। 
बिहीबार लेखिएको पत्रमा ‘सार्वभौम जनताको प्रतिनिधिप्रति सम्मान स्वरूप अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न प्रेस विज्ञप्ति मार्फत मिति २०७९-८-२९ मा गरेको अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ति उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरेको’ उल्लेख छ ।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ‘संविधान र प्रचलित कानुन भन्दा आफू माथी रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेको हुँदा निजलाई कानुन बमोजिम कारबाहीका लागि प्रेस विज्ञप्तिको प्रतिलिपि सहितको कागजात थान-५ (पाँच) यसैसाथ संलग्न गरी आवश्यक कारबाहीको लागि सिफारिस गरिएको ब्यहोरा अनुरोध छ ।’
यसअघि आयोगले मेयर साम्पाङ राईलाई अभिव्यक्ति सच्याएर आत्मालोचना गर्न विज्ञप्ति मार्फत अनुरोध गरेको थियो । विज्ञप्तिमा भनिएको थियो ‘जनताको प्रतिनिधि र स्थानिय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसीन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत यस्ता साम्प्रदायिक र कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पर्ने भएकोले धरानका नगर प्रमुखलाई उक्त अभिव्यक्ति सच्याई दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध गर्दछौ ।’
dalit aayog letter 2