धरान : धरान उपमहानगरपालिका कार्यपालिकाको बैठक चौथो पटक पनि स्थगित भएपछि वडाध्यक्षहरू र मेयर हर्क साम्पाङ राई बिच आरोप प्रत्यारोप सुरु भएको छ । हिजो वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन गरी त्यसको दोष मेयरको स्वेच्छाचारी प्रवृत्ति भएको आरोप लगाएपछि आज मेयर राईले पनि पत्रकार सम्मेलन गरी त्यसको दोषी वडाध्यक्षहरू भएको प्रत्यारोप लगाएका छन् ।
पटक-पटक कार्यपालिका बैठक बोलाइए पनि चार महिना देखी मेयर र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू बिचको विवादका कारण बैठक सुरु हुन अगावै स्थगित हुँदै आएको छ । असोज १३ गते बोलाइएको बैठकमा विवाद भएपछि स्थगित भएको बैठक त्यसपछि तिन पटक बोलाइए पनि सुरु हुन अगावै स्थगित हुदैं आएको छ । त्यसपछि कात्तिक १७, कात्तिक २४ र मङ्सिर २९ गते बैठक बस्न नसकेको हो ।   
मेयर राईद्वारा आज जारी विज्ञप्तिमा बैठक बस्न नसक्नुमा ‘कार्यपालिका सदस्यहरू स्थानिय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ उपधारा ४ को खण्ड ‘क’ को ६ ले नगर प्रमुखलाई दिएको कार्यपालिका बैठक/रेखदेख निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रयोग गरी रोक्न खोज्दा सम्मानित कार्यपालिकाको विधिको धज्जी उडाएर होहल्ला गरिनु गैरकानुनी, आपत्तिजनक र खोजजनक घटना’को उल्लेख गर्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू नै जिम्मेवार भएको प्रत्यारोप लगाइएको छ ।
चार महिना अघि असोज १३ गतेको बैठकमा मेयर राईद्वारा प्रस्तुत धरान-१७ मा बहुसांस्कृतिक पार्क निर्माण गर्ने प्रस्तावमा छलफल सुरु भएपछि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो मत राख्दै गर्दा मेयर राईले बिचैमा रोकेका थिए । कार्यपालिका सदस्य देवानले प्रकट गरेको राय अभद्र भएको आरोप लगाउँदै मेयर राईले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘उक्त प्रस्ताव उपर निज सदस्यले आफ्नो विचार राख्ने क्रममा मर्यादालाई मिचेर अभद्र शैलीमा अनुशासनहीनता देखाउँदा’ बिचैमा रोक्नु परेको उल्लेख छ । 
हिजो बिहीबार २८ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले उपमहानगरपालिकामै पत्रकार सम्मेलन गरी उक्त बैठकमा मेयर राईले कार्यपालिका सदस्यको राय राख्न पाउने अधिकार हनन गर्दै रोक लगाएर बाहिर निस्केर जानुस् समेत भनी अपमानित गरेको आरोप लगाएका थिए । मेयर राईलाई आत्मालोचना गरी बैठक सुचारु गर्न माग गर्दा ‘म आत्मालोचना गर्दिन’ भनी स्वेच्छाचारी प्रवृत्ति देखाएको हुनाले उक्त बैठक स्थगित भएको बताइएको थियो । आत्मालोचनाको मागकै निरन्तरताका कारण चार महिना देखी बैठक बस्न नसकेको हो । 
मेयर राई आत्मालोचना गर्न नमान्ने र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू आत्मालोचना नगरी बैठकमा सहभागी नहुने अडानले नियमानुसार बस्नु पर्ने बैठक चार महिना देखी हुन सकेको छैन । स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने व्यवस्था छ । आर्थिक वर्षको मध्यावधिमा आइपुगेको अवस्थामा कार्यपालिका बैठक नबस्दा उपमहानगरपालिकाको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमै असर पर्ने सम्भावना बढेको छ ।
चौथो पटक बोलाइएको बैठकमा उपमेयर अइन्द्र बेघाले सहमतिको प्रयास गरेता पनि गणपूरक सङ्ख्यामा कार्यपालिका सदस्यहरू उपस्थित नहुँदा सफल हुन सकेनन् । मेयर राईको आज जारी विज्ञप्तिमा वडा अध्यक्षहरूको राजीनामा माग गरिएकाले सहमतिको सम्भावनालाई क्षीण बनाएको छ । विज्ञप्तिमा स्थानिय सरकार सञ्चालन ऐनको उल्लेख गर्दै ‘बैठकमा भाग लिने भन्ने कर्तव्य पुरा नगरेको र अनुशासनहीनता र लापरबाही देखाएकोले सबै कार्यपालिका सदस्यहरू तुरुन्त सच्चिन आवश्यक देखिन्छ अन्यथा नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त बनाउन’ अनुरोध गरिएको छ ।
Mayar harka raj rai Press release dharan