• रश्मि प्रधान

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमा स्वेच्छाचारी प्रवृत्ति देखिएको कार्यपालिका सदस्यहरूले आरोप लगाएका छन् । उनले कार्यपालिकाको निर्णय बिना गैरकानुनी ढङ्गमा आफूखुसी कामहरू गरिरहेको बताइएको छ । उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा २० वटै वडा अध्यक्ष सहित २८ जना कार्यपालिका सदस्यहरूको हस्ताक्षर सहितको विज्ञप्तिमा त्यस्तो आरोप लगाइएको हो । 

विज्ञप्ति अनुसार मेयर साम्पाङले उपभोक्ता समिति गठन गर्न रोक लगाएकाले धरानका विभिन्न वडाका जनसहभागितामा हुने विकास निर्माणका रोकिएका छन् । कार्यपालिकाको निर्णय बिना उपमहानगरपालिकालाई दिर्घकालिन आर्थिक भार पर्नसक्ने साबुन उद्योगको कार्य सुरु गरिएको छ । कसैलाई जानकारी नदिई आफूखुसी बिपी पार्कको नाम परिवर्तन गरी मेयर साम्पाङले आफ्नै फोटो राखेर श्रम संस्कृति पार्कको साइन बोर्ड राखेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा तुच्छ शब्दहरू प्रयोगको क्रम जारी रहँदा समग्र मुलुकभरिनै धरानवासीहरूले लज्जित महसुस गर्नु पर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । यसैको परिणाम स्वरूप मेयर साम्पाङबाट जातीय सद्भाव खलबलिने गरी 'चमारे' भन्ने शब्द प्रयोग भएपछि दलित समुदायको आत्मा सम्मानमा चोट पुगेको अवस्था बनेको विज्ञप्तिमा छ । 

विज्ञप्तिमा ‘यसरी गैरकानुनी रूपमा भए गरेको कार्यहरू धरान उपमहानगरपालिका नगर कार्यपालिका जबाफदेही नहुने’ उल्लेख गर्दै धरानवासीको सहमति र सहकार्यका आधारमा धरान उपमहानगरपालिका सञ्चालन होस भन्ने म्याण्डेटलाई आत्मासात गरी नगरपालिका सञ्चालनको वातावरण बनाउन आम नगरिकहरुमा आग्रह गरिएको छ ।

मेयर साम्पाङबाट उपमहानगरपालिका कार्यालय आउने सेवाग्राहीहरूलाई हप्कीदप्की गरिनु सामान्य कुरा बनेकाले सेवाग्रहीहरुको समस्या सुनवाइ हुने अवस्था नरहेको विज्ञप्तिमा छ । कार्यालयका राष्ट्र सेवक कर्मचारीहरूलाई अपमानित गर्ने गरेको गुनासोको सुनवाइ कसले गर्ने भनी प्रश्न गरिएको छ । 

उपमहानगरपालिकाका प्रवक्ता तथा वडा १७ का अध्यक्ष सूर्य भट्टराई मनोजले पत्रकार सम्मेलनमा  मेयर साम्पाङको स्वेच्छाचारी प्रवृत्तिकै कारण कार्यपालिका बैठक पटक पटक स्थगित भइरहेको बताउँदै तर मेयर सम्पाङले सामाजिक सञ्जालमा निराधार हल्ला फैल्याएर कार्यपालिका सदस्यहरूको मान मर्दन गर्ने काम गरिरहेको बताए ।    

सदस्यहरूले कार्यपालिका बैठक सञ्चालन हुन नदिएको भन्ने मेयर साम्पाङले फैलाएको अफवाह निराधार भएको उनले बताए । उनका अनुसार गएको भदौ १३ गते बसेको कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकका प्रस्ताव उपर मत राख्ने क्रममा बैठकको अध्यक्षता गरिरहेका नगर प्रमुख हर्क साम्पाङले राय राख्न रोक लागउदै बाहिर निस्केर जानुस् भनी अपमानित गरेका थिए ।

उक्त विषयमा नगर प्रमुखले आत्मालोचना गरी बैठक सुचारु गर्न माग गर्दा ‘म आत्मालोचना गर्दिन भनी स्वेच्छाचारी प्रवृत्ति देखाएको हुनाले उक्त बैठक स्थगित भएको थियो । यी विषयहरूमा नेतृत्वको हैसियतले मेयरबाट सहजीकरण गरी बैठकलाई सुचारु गर्ने प्रयास नहुँदा पुनः असोज १३ गतेको बैठकमा वडाअध्यक्षहरु अनुपस्थित रहे ।

मेयरले  विषयवस्तु लाई गम्भीरता नदिई आफ्नै अडान लिएकाले मङ्सिर २९ गते बिहीबार बैठकमा पनि सोही विषयलाई लिएर कार्यपालिका सदस्यहरूले अडान दोहोर्‍याउँदै बैठक सुचारु हुन नसक्ने कुरा राखिएको प्रवक्ता भट्टराईले बताए । उनले भने ‘सहमति कायम गर्ने प्रयासको सट्टा नगरप्रमुख बैठक स्थगित गरी हल बाहिर निस्कनु भयो ।’

उनका अनुसार नगर प्रमुखले धरान उपमहानगरपालिका तोक आदेशको आधारमा सञ्चालन गर्छु भन्ने गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति दिँदै आए जस्तै पाँच वटा विषयहरू गैर संवैधानिक गैरकानुनी रूपमा तोक आदेशकै आधारमा अगाडी बढाइएको उल्लेख गर्दै त्यसको जिम्मेवारी कार्यपालिकाले लिन नसक्ने स्पष्ट गरे । 

नगर प्रमुखको यस प्रकारको स्वेच्छाचारी र अराजक प्रवृत्तिका कारण कार्यपालिकाले गर्नुपर्ने महत्त्वपूर्ण विषयको निर्णयहरू गर्न नसकेको बताउँदै नगर प्रमुखको कार्यशैली व्यवहार र प्रयोग गर्ने तुच्छ शब्दहरूको कारण समग्र मुलुक भरीनै धरानवासीहरूले लज्जित महसुस गर्नु परेको भट्टराईको भनाई छ । उनले भने ‘मेयर साबको यस्तो प्रवृत्ति प्रति खेद प्रकट गर्दै कार्यशैलीमा परिवर्तन गरि ‘म होइन हामी’ भन्ने भावना अनुरूप धरानको विकास गर्न एकताबद्ध रूपमा अघि बढ्ने वातावरण सृजना गर्न माग गर्दछौँ ।’