धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिले ‘दलित समुदायको मौलिक हक र अधिकारबाट नै कुण्ठित पार्दै दुर्व्यवहार भएको’ भन्दै उपमहानगरपालिका कै तीनजना कार्यपालिका सदस्यले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी ‘धरानका नगर प्रमुख लाई ‘कानुन अनुसारको कारबाही’ गर्न माग गरेका छन् ।

विज्ञप्तिमा मेयर साम्पाङले ‘मङ्सिर २७ गते आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्व्यवहार भएको’ उल्लेख छ ।  

धरान उपमहानगरपालिका कार्यपालिका सदस्य त्रय सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले विज्ञप्ति जारी गरेका हुन् । धरान उपमहानगर क्षेत्रमा पछिल्लो समय भएका केही घट्नाहरुको कारण विभिन्न सामाजिक सञ्जाल मार्फत दलित समुदाय माथि जातीय आँच आउने गरी मेयर हर्कराज राईले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘जनताको प्रतिनिधि र स्थानिय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसीन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत यस्ता साम्प्रदायिक र कुनै जात प्रति अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पर्ने भएकाले धरानका नगर प्रमुखलाई कानुन अनुसार कारबाहीको माग गर्दछौँ ।’     

 विज्ञप्तिमा ‘नेपालको जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को धारा ४ को उपधारा १२ मा कसैले श्रव्य-दृश्य सामाग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनिच दर्साउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहर्‍याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो सङ्केत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने’ कुरा उल्लेख भएको स्मरण गराइएको छ ।

dalit-karyapalika-sadasya-k