सुनसरी : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधवारबाट सेमिफाइनल खेलहरू हुदैछन । 
आज हुने पहिलो सेमिफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र युकेएफसी भारतबिच प्रतिस्पर्धा हुदैछ। खेल दिउसो ३ बज देखी धरान रङ्गशालामा हुनेछ ।
आजको खेलमा दुवै टोली उपाधि होडमा पुग्ने दाउमा हुनेछन् । युकेएफसी उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
काँकडभिट्टाले पाँच पटकको विजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
आजको विजेताले भोलि बिहीबार हुने एन्फा मोरङ र एभिनियर फुटबल क्लब क्यामरुनबिचको अन्तिम सेमिफाइनल विजेतासँग उपाधिको लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
एन्फा मोरङले हिजो मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली बङ्गलादेशको केबिपीएस क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
एभिनियर बागमती युवा क्लब सर्लाहीलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ ।