इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) लाई पदीय मर्यादा ख्याल गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले सुझाव दिएका छन् । सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने गरेका साम्पाङलाई शब्द चयनमा ख्याल गर्न आग्रह गरेका हुन् । 

इटहरी धरान सीमा विवादको विषयमा सामाजिक सञ्जालमा आ-आफ्ना प्रतिक्रिया आइरहेका छन् । सोही क्रममा बिहीबार पौडेलले आन्तरिक सिमानाको विषयमा धेरै विवाद नगर्न आग्रह गरे । आन्तरिक विषयमा भन्दा बरु राष्ट्रिय झण्डा लिएर सँगै लिपुलेक कालापानी जान तयार रहेको उनको भनाइ थियो । सोही विषयमा साम्पाङले कोठा बाहिर ननिस्किने लिम्पियाधुरा जाऔँ भनेको भन्दै खिसिट्युरी गरे । 'कहिले अफिस बाट बाहिर ननिस्कनेले लिम्पियाधुरा जाऔँ भनेछ !' उनले लेखेका छन् ।

शुक्रवार इटहरीका मेयर पौडेलले सुझाव सहित पुनः अर्को पोस्ट गरेका हुन् । उनले लेखेका छन्  'धरान नगर प्रमुख ज्यु ! पदीय मर्यादा लाई नभुलौँ । शब्द चयन मा नि ख्याल गरौँ। सम्मान लिन र दिन सिकौँ । दुनियाँमा धेरै मानिसहरू चर्चा र शक्ति को चुचुरो मा पुगेका थिए र छन् । आखिर एउटा समय सम्म न हो । अन्त्यमा टेक्ने र विसर्जन हुने त माटो नै हो । जमिन मा बस्ने मानिसको बिचार,भावना, आवाजलाई स्वीकार र सम्मान गर्नु, सुन्नु, मनन गर्नु अग्लो हुँदै गरेको मानिसको महानता हो । भौतिक शरीर माटोमा विलय भएको दिन छोड्ने स्मृति भनेको कर्म, व्यवहार अनि मलामी नै हुन प्रमुख ज्यु । जय नेपाल ।'