इटहरी : धरान-इटहरी सीमा विवाद बाहिर आएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ । धरान र इटहरीबासी बिच प्रतिक्रिया सुरु भएपछि इटहरीका मेयर हेमकर्ण पौडेलले सहकार्यको प्रस्ताव गरेका छन् । 

धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले इटहरीको तरहरा नजिकै पानीपियामा धरानको बोर्ड राखेपछि विवाद बढेको हो । इटहरीको सिमाना मिचिएको भन्दै युवासंघ इटहरीले बोर्ड उखेलेर लगेको थियो । 

सोही विषयमा सहमति र सहकार्यका साथ आन्तरिक विषय हल गर्नुपर्ने मेयर पौडेलको धारणा छ । बहस चर्किँदै गएपछि बिहीबार फेसबुक मार्फत कालापानी र लिपुलेकमा झण्डा लिएर सँगै जान प्रस्ताव गरेका छन् । 

आन्तरिक सिमानाको लागि सामाजिक सञ्जालमा मिलेर जानुपर्ने प्रतिक्रिया आएपछि त्यसलाई ध्यान दिन सुझाव दिएका छन् । 

उनले भनेका छन् , "धरान नगर प्रमुख ज्यू नमस्कार । सामाजिक सञ्जाल हेर्नू भएको छ ? जनता छिमेकी भएर झगडा नगर लिपुलेक र कालापानीको सिमाना खोज्न जाऊ भन्दैछ्न। बोकौँ चन्द्र सूर्य झण्डा, बाँधौँ टाउकोमा कफन, मारिए सहिद बाँचे योद्धा, जाने मेयर ज्यू ? म तपाईँ सङ सहकार्य गर्न तयार छु । जय नेपाल"