धरान : धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेयाङबो आफूले सार्वजनिक पद धारण गरेर र सामाजिक सेवाको नाममा पद, प्रतिष्ठा र हैसियत दुरुपयोग गरी भ्रष्टाचार गरेको एक रुपैयाँ मात्र प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘मेयर हर्कका केही झोलेहरूले मेरो सम्पत्ति छानबिनको माग मेयर सामु राखेका रहेछन्’ भन्दै लेखेको स्ट्याटस मार्फत उनीहरूलाई उक्त चुनौती दिएका हुन् ।

गत: सोमवार स्वतन्त्र नागरिक समाज नामक मेयर हर्क साम्पाङ निकट सामाजिक संस्थाले जुलुस प्रदर्शन गर्दै पूर्व मेयर मनोजकुमार मेयाङबो, तिलक राई, नगरपालिका अधिकृत खजेन्द्र खतिवडा सहित दर्जन पदाधिकारीको नाम उल्लेख गर्दै सम्पत्ति छानबिन गर्न भनी मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएको थियो ।

यसअघि मेयर हर्क साम्पाङले फेसबुकमा स्ट्याटसमा ‘अब उपमहानगरपालिकाका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने’ आशयको अभिव्यक्ति प्रकट गरेका थिए । त्यसको लगत्तै समाजले मेयरलाई ज्ञापन पत्र बुझाउँदै सम्पत्ति छानबिनको माग गरेको हो ।